
दमक,४ माघ । झापा, कमल ७ मेमेङ टोलमा निर्माणाधीन किरात युमा माङहिमका लागि स्थानीय एक जना समाजसेवीले रु १ लाख सहयोग दिएका छन् । माङहिमका संरक्षक समेत रहेका टोलकै ज्येष्ठ गणेश बहादुर केरुङका छोरा आइतराजले रु १ लाख आर्थिक सहयोग उपलव्ध गराएका हुन् ।
रोजगारीका सिलसिलामा हङकङमा बस्दैआएका उनले आफना दिवंगत आमा गौमाया केरुङ बेघाको स्मृतिमा ५० हजार र आफनो नामबाट रु ५० हजार गरि जम्मा एक लाख सहयोग उपलव्ध गराएको माङहिम निर्माण उपभोक्ता समितिका अध्यक्ष पूर्णकुमार मावोले बताए । उक्त सहयोग रकम आज दाताका बुबा गणेशबहादुरले निर्माण समितिका अध्यक्ष मावोलाई हस्तान्तरण गरेका छन् ।
पूर्व बेलायती सैनिक समाजसेवी गणेशबहादुरले किरात माङहिम निर्माण गर्न २ कठठा र सोहि टोलकी बुधमाया मावोले १० धुर जमीन निशुल्क दिएका थिए । त्यही जमीनमा तीन बर्षदेखि स्थानीय किरात धर्मअनुनायीको सक्रियतामा माङहिम निर्माणाधीन अवस्थामा रहेको माङहिम समितिका अध्यक्ष भीमराज लिम्बूले बताएका छन् । हालसम्म माङहिमको मुख्य पूजास्थल संरचनाको काम भईरहेको र त्यसमा करिव रु १० लाख खर्च भईसकेको उनले जनाए ।
उनका अनुसार अधुरो माङहिम भवन निर्माण गर्न चालु आर्थिक बर्षमा गाउँँपालिकाले रु १ लाख ५० हजार वजेट उपलव्ध गराएको छ । सोहि वजेटसंगै भक्तजनहरुबाट सहयोग जुटाउदै माङहिम निर्माणको काम धमाधम भईरहेको उनले बताए ।पालिकाले यसअघि ५ लाख र १ लाख ५० हजार गरि उपलव्ध गराएको ६ लाख ५० हजार वजेटमार्फत माङहिमको निर्माण कार्य भईरहेको जनाईएको छ ।
यसैवीच माङहिम निर्माणमा स्वदेश तथा विदेशमा बस्दैआएका किरात धर्मअनुनायीहरुबाट सहयोग जुट्ने क्रम बढ्दै गएको जनाईएको छ । भक्तजनले स्वेच्छिक सहयोग मार्फत हालसम्म ३ लाख बढी सहयोग प्राप्त भईसकेको निर्माण समितिकी कोषाध्यक्ष नन्दकुमारी मेन्याङबोले बताईन् ।