आसन्न निर्वाचनमा कांग्रेसको वहुमत आउँछ – महामन्त्री शर्मा

झापा,२५ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आसन्न निर्वाचनमा कांग्रेसले वहुमत प्राप्त गर्ने दावी गरेका छन् ।नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अबको निर्वाचनमा कांग्रेसले वहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दावी गरे।
कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्क नसकेको बताए ।
विगतमा भएका निर्वाचनको समिक्षा गर्दै महामन्त्री शर्माले एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढंगले बदल्न सक्दैन तसर्थ यो बेला संकल्प गर्नु पर्छ आगामी निर्वाचन हामीले जित्नै पर्ने जोड दिए।
कांगे्रका पूर्व महामन्त्री समेत रहेका कृष्ण प्रसाद सिटौला प्रति लक्षित गर्दै महामन्त्री शर्माले भने – एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिदै गर्दा अर्को तर्फ कृष्ण प्रसाद सिटौला हुनुहुन्छ । अबको निर्वाचनमा उहाँलाई उच्च मनोवलका साथ जिताउनै पर्छ ।
नेपाली कांग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनु पर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनु पर्ने बेला आएको शर्माको भनाई छ ।
पूर्व सांसद एवं प्रजातान्त्रिक आन्दोलनका अग्रज नेता डिल्लीप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नेता सिटौलाले शक्ति जनतामा रहेको बताउदै जनताले कांग्रेसलाइ कसरी हेर्छ्न भन्ने अनुगमन गरेर जनता केन्द्रित कार्यक्रम लिएर गाउगाउँमा जान कार्यकर्तालाई आह्वान गरे ।
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले चुनावको परिणामले मन दुखेकाहरुलाइ मल्हमपट्टी लगाएर गाउँ– नगर, वडाको नेतृत्व छान्न आह्वान गर्दै ९० दिनको कार्यतालिका बनाएर स्थानीय चुनाबको तयारीमा लाग्न निर्देशन दिए ।
केन्द्रीय सदस्य सरिता प्रसाइले एमालेले संसद बन्धक बनाएर लोकतन्त्रमाथि नै प्रहार गरिरहेकोतर्फ सचेत गराउँदै नेतृ प्रसाइले बहस र छ्लफलमार्फत समस्या समाधान गरेर लोकतान्त्रिक पद्धतिको पालना गर्न सुझाव दिए।
नेपाली कांग्रेस प्रदेश– १ का सभापति उद्वव थापाले सहिद, प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा, सर्बस्वहरणमा परेका ब्यक्ति तथा परिवार सम्मानका लागि योग्य भएको बताउँदै भने –‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा कसैको हार र जीत हुँदैन । बिजय उत्सब र सम्मानले पार्टीको हित गर्दैन । उपबिजयीहरुको पीडामा मल्हम लगाउन सकेमात्र पार्टीको हित हुन्छ, संगठन बलियो हुन्छ।’
कांग्रेसका पूर्वं जिल्ला सभापति पूर्णानन्द शर्माले जग बलियो भए घर बलियो हुने बताउदै एकजुट भएर पार्टीको जग बलियो बनाउन लाग्नु पर्ने औल्याए ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरु महेन्द्राकुमारी सुब्बा, सुशिला ढकाल, राष्ट्रियसभाका उम्मेद्वार गोपालकुमार बस्नेत लगायतले बोलेका थिए ।
सो क्रममा केन्द्रीय समितिमा निर्वाचित महामन्त्री शर्मा, केन्द्रीय सदस्यहरु बुढाथोकी, प्रसाई, सुब्बा र ढकाल, प्रदेश सभापति थापासहित प्रदेश समितिका १३ जना सदस्यहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.