किवीको बजार अभाव हुँदा किसान मारमा

ताप्लेजुङ, १८ पुस ।किवी फलको बजार अभाव हुँदा ताप्लेजुङसहित पूर्वका किसान मारमा परेका छन् । बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान मारमा परेका हुन् ।

सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित यहाँका किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले सुरुको मूल्यमा प्रभावित हुँदै किवी खेती लगाएका र अहिले सोचजस्तो मूल्य नआएपछि उनीहरु निरास बनेका छन् । किवीका लागि गरेको आर्थिक लगानी डुब्ने भएकोभन्दै खेतीमा सङ्लग्न किसान चिन्तितसमेत बन्दै गएका छन् ।

आजभन्दा पाँचरसात वर्ष अघिदेखि ताप्लेजुङमा किसानले किवी खेती सुरु गरेका हुन् । धेरै किसानले व्यावसायिक रुपमा किवी खेती लगाउन सुरु गरेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेको, तर मूल्य निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ । किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरुमा बजारको चिन्ता रहँदै आएको थियो ।

फुङ्लिङ नरपालिका–७ दोखुका किसान राजकुमार गुरुङले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांस किसानले एकै समयमा किवी खेती सुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको गुरुङले बताउनुभयो । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ ।

यस्तै। फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरु मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा सङ्लग्न किसानहरु मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे। शीत भण्डार (कोल्ड स्टोर) सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उहाँको भनाइ छ ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी स्थानीय कुमारी भण्डारी क्षेत्रीले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदा–रहँदै पनि यसबाट किसान बञ्चित हुनुपरेको बताए । शीत भण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने भण्डारीको भनाइ छ । त्यस्तै किवीलाई प्रशोधन गरेर जुस, वाइन लगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको उनले बताएका छन् ।

पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौं आम्दानी गुमाउनुपर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा सङ्लग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।

यसरी उहाँहरुजस्तै जिल्लामा किवीको व्यवसायिक खेतीमा सङ्लग्न रहँदै आएका किसानहरु बजारको अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलोग्राम ६०० रुपियाँसम्म पर्ने गरेकोमा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलोग्राम ८० देखि १०० रुपियाँ सम्ममा खरिद र बिक्री हुने गरेको छ । उक्त हालको मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.