पत्रकार,व्यवसायीसहित विभिन्न व्यक्तित्वहरु सम्मानित

दमक,९ पुस । यहाँस्थित दमक उद्योग वाणिज्य संघको ३० औं बार्षिक साधारणसभा शुक्रवार विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
स्थानीय कस्मिक पार्टी प्यालेसमा एक कार्यक्रम गरि संघले विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले बर्षेनी प्रदान गर्दै आएको वाणिज्य पत्रकारिता पुरस्कारबाट यस बर्ष सप्तरङगी एफएमका प्रवन्ध निर्देशक गिरिराज भट्टराई पुरस्कृत भएका छन् भने उत्कृष्ट व्यवसायीका रुपमा दमकका पूराना होटल तथा रेष्टुरेँन्ट व्यवसायी डम्बर बहादुर राई र फलफुल व्यवसायी राजोदेवी शाहलाई सम्मान गरिएको छ ।
त्यसैगरी त्यस्तै आम्दा अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. नविन ढकाल र दमक अस्पतालकी स्वास्थ्यकर्मी देवी दंगाल तथा संघका पूर्व अध्यक्ष एवं महामारी नियन्त्रण महाअभियानका संयोजक प्रकाश प्रसाइँ नेतृत्वको समितिलाई पनि कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गरेको भन्दै संघले सम्मान गरेको छ । त्यस्तै संघका कार्य समिति सदस्य चन्द्र खत्री र व्यवसायी रमेश अधिकारी निर्माण व्यवसायी संघ झापामा निर्वाचित भएकोमा सम्मान गरिएको छ । अधिकारी संघको वरिष्ठ उपाध्यक्ष र खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । होटल तथा पर्यटन व्यवसायी संघको प्रदेश अध्यक्षमा निर्वाचित वाणिज्य संघका पूर्व कार्यसमिति सदस्य राजन दंगाललाई सम्मान गरियो ।
साधारण सभामा बार्षिक प्रतिवेदन पेश गर्दै संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकको आवश्यकतासंग जोडिएका बिकास निर्माण तथा पर्यटन प्रवद्र्धन तथा व्यवसायिक हित सम्बन्धिका योजनाहरुमा सरकारको ध्यानाकर्षण गराए ।

पत्रकार भटटराईलाई सम्मान गरिदै

उनले कोरोना महामारी र यसका कारण लगाइएको लकडाउनका कारण प्रभावित व्यवसायीहरुलाई विभिन्न किसिमका छुट सुविधाहरु संघले प्रदान गर्दै आएको र सरकारले समेत त्यस किसिमका सहुलियत तथा छुट सुविधाहरु दिनुपर्ने उल्लेख गरे ।
साधारणसभामा संघका प्रथम उपाध्यक्ष राजु खड्काले सांगठनिक , द्धितीय उपाध्यक्ष राजकुमार योङयाले ब्यवसायिक हितकोष कार्यक्रम सञ्चालन सञ्चालन सम्बन्धिको प्रतिवेदन , संघकी तृतीय उपाध्यक्ष रमा लिम्बुले आर्थिक प्रतिवेदन र लेखा संयोजक खोम प्रसाद बगालेले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारण सभामा विधान संशोधन सम्बन्धिको प्रस्ताव समेत पेश भई छलफलमा रहेको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बर अफ कमर्सका सदस्य चण्डीराज ढकालको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभा उद्घाटनमा दमक नगर प्रमुख रोमनाथ ओली, महासंघका नेताहरु, विभिन्न गाउँ ÷ नगर संघ, राजनीतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी थिए । सो अवसरमा संघका पूर्व अध्यक्षहरु राजेन्द्र ढकाल, प्रकाश प्रसाइँ, विष्णु प्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्सका सचिव अजय अग्रवाल लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक समेत रहेका संघका वरिष्ठ उपाध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल )ले स्वागत मन्तव्य राखेका थिए भने प्रथम उपाध्यक्ष राजु खडकाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.