
झापा,२९ मंसिर। झापाको मेचीनगर -६ बाट नक्कली पिसिआर रिपोर्ट बनाउने एक जना पक्राउ परेका छन् । मंगलवार साँझ पौने ५ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेका राकेश चौहानले देखाएको पिसिआर रिपोर्ट हेर्दा केही शंकास्पद देखिएसंगै अनुसन्धान गर्ने क्रममा नक्कली रिपोर्ट रहेको खुल्न आएको हो ।
उक्त रिपोर्टमा मेची अञ्चल अस्पतालको लेटर प्याडमा रिपोर्ट नेगेटिभ लेखिएको पाईएसंगै थप अनुसन्धान गर्ने क्रममा उक्त रिपोर्ट मेचीनगर नगरपालिका ६ मा रहेको रिंगजी ट्राभल्स एण्ड टुर्सले उपलब्ध गराएको खुल्न आएको थियो । नक्कली रिपोर्ट साथमा लिई आएका चौहानको बयानका आधारमा ट्राभल्सका सञ्चालक ३६ बर्षिय पेमा तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङको साथबाट प्रहरीले तीन थान ल्यापटप समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।