बैंक लुटपाटमा संलग्न चार जना जेल चलान

विराटनगर, २७ मंसिर । मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणका मुख्य अभियुक्तसहित चार जना जेल चलान भएका छन् ।
मोरङको धनपालथान गाउँपालिका ४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलान भएका हुन् ।
मोरङ अदालतका न्यायाधीश सुदर्शन लम्सालको इजलासले बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना अभियुक्तलाई पुर्पक्षको लागि जेल चलान गर्ने आदेश दिएको हो ।
आइतबार भएको थुनछेक बहसपछिको आदेशले विराटनगर ८ का श्याम मुखिया, भारतको अररिया जिल्लाको थाना बरगाना पञ्चायत शेखपुराका सुनिल यादव, सोही ठाउँका विजय बहरदार र रोशन कुमार यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्र वीरजङ्ग राणाले जानकारी दिए । अदालतको आदेशपछि उनीहरू पुर्पक्षका लागि मोरङ कारागार चलान भएको अदालतले जनाएको छ ।
पक्राउ परेकामध्ये मुखिया बैंक लुटपाटको मुख्य गिरोह रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । उनको योजना अनुसार बैंक लुटपाट भएको थियो । मुखियाले भारतदेखि लुटपाट गर्ने समूहलाई हतियारसहित ल्याएर दिनदहाडै बैंक लुटपाट गरेका गरेका थिए ।
असोज २५ गते कर्सियाको सिटिजन्स बैंकदेखि २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
घटनामा संलग्न ११ जना भए पनि बैंक लुटपाटमा आठ जना आएर लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटेराले बैंकदेखि लुटेर लगेको रकम भने फेला परेको छैन् ।
विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाटमा पनि यही समूह संलग्न रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । प्रहरीले झण्डै दुई साता लगाएर गरेको अनुसन्धानपछि २२ असोजमा विराटनगरको मेनरोडमा रहेको गार्मेन्ट पसल र २५ असोजमा कर्सियाको बैंक लुट्ने समूह एउटै रहेको खुलेको हो ।

मुख्य अभियुक्तसहित चार थुनामा, दुइ जना सुधार गृह
धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना अभियुक्त पुर्पक्षको लागि जेल चलान भएका छन् । दुई जनाको हकमा कम उमेरका भएकाले उनीहरूलाई विराटनगरस्थित बालसुधार गृहमा राख्न मोरङ अदालतले आदेश गरेको छ ।
आइतबार भएको थुनछेक पछिको मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजालशले बुढिगंगा गाउँपालिका –६ डल्लेपुल बस्ने २६ वर्षिय धन बहादुर तमाङ, सोही ठाउँका २२ वर्षिय राजु तामाङ, डेगबहादुर खड्का र २४ वर्षिय लिखमान भन्ने इश्वर लिम्बुलाई थुनामा राख्न आदेश दिएका हुन् । यस घटनामा पक्राउ परेका ६ जना मध्ये दुइ जनाको बाल बिज्याई कर्ता देखिएकोले उनीहरूको हकमा बाल सुधार गृह पठाउने आदेश भएको मोरङ अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिए । अदालतको आदेशपछि चार जना पुर्वक्षको लागि जेल चलान र दुइ जना सुधार गृह गएको श्रेस्तेदार राणाले जानकारी दिए ।

रिजन हत्याको घटनाको मुख्य अभियुक्त धने रहेको प्रहरीको अनुसन्धानदेखि खुलेको थियो । यस घटनामा प्रहरीले चार जनालाई रिजनको हत्या भएको दुइ दिनपछि पक्राउ गरेको थियो धनेलाई प्रहरीले घटना भएको २२ दिनपछि पक्राउ गरेको थियो । हत्या गरेपछि धने भारतर्फ फरार भएका थिए । फरार भएका तामाङलाई प्रहरीले सुनवर्षी नगरपालिका ८ सिक्टी एरियाबाट घटना भएको २२ दिनपछि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका धनेलाई अन्य चार जनालाई प्रतिवादीलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएकोले सोही मुद्दामा धेनलाई पनि म्याद मिलान गरि सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग गर्ता गरेको थियो ।

Leave a Reply

Your email address will not be published.