महागुरु फाल्गुनन्द लिङदेनको शालिकको अनावरण

अर्जुनधारा,२७ मंसिर । झापाको अर्जुनधारा–९स्थित किरातेश्वर हाङसाम थेवा युवा माङहिम परिसरमा नवनिर्मित १६औं राष्ट्रिय विभूति एवम् समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको शालिक अनावरण गरिएको छ ।

फाल्गुनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष शेरबहादुर इङनामको अध्यक्षतामा आइतवार एक कार्यक्रमका बीच किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्राहाङमा लिङदेनले संयुक्तरुपमा उक्त शालिक अनावरण गरेका थिए ।

८.५ फिट उचाई रहेको पूर्ण कदको उक्त शालिक पूर्णरुपमा ढुङ्गाको प्रयोग गरी निर्माण गरिएको प्रतिष्ठानका कोषाध्यक्ष खगेन्द्र इङनामले जानकारी दिए । विभिन्न दाताहरुको सहयोगमा निर्माण गरिएको उक्त शालिकको जम्मा लागत १० लाख रुपैयाँ रहेको बताइएको छ ।

सोही कार्यक्रमको अवसरमा किरातेश्वर हाङसाम थेवा युवा माङहिमको पनि उद्घाटन गरिएको छ । किरात धर्मगुरु लिङदेनबाट आर्शिवचन व्यक्त गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति प्रा.डा.गंगाप्रसाद उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, नेपाली काँग्रेस झापाकी सदस्य सरस्वती सिटौला गोले, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र थेगीम लिम्बू, शंकराचार्य पीठ साधुटारका अध्यक्ष एवम् व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.