
पथरीशनिश्चरे,२१ मंसिर । महिला फेडेरेसनद्वारा आयोजित पथरीशनिश्चरे नगरपालिकाको आर्थिक सहयोग, ओरेकको समन्वय र शब्द थिएटरको प्रस्तुतिमा दोषी को हो ? कचहरी नाटक पथरीशनिश्चरे नगरस्थित हसन्दहमा मञ्चन गरिएकोछ ।
सार्वजनिक यातायात, वजार, विद्यालय, सामाजिक सन्जाल लगायत ठाउँमा महिला तथा किशोरी माथि हुने गरेका हिंसालाई नाटकमा चित्रण गरिएको थियो भने त्यस्ता हिंसाहरूलाई कसरी नियन्त्रण गर्ने ? भन्ने उपायहरु समेत नाटकमार्फत उपस्थित दर्शक र समाजलाई नै सचेतना दिलाईएको थियो ।
कार्यक्रममा उपस्थित किशोरीहरुले यस्ता हिंसाहरु आफुहरुले भोगीरहेको र उजुरी गर्दा सम्वन्धित निकायले सार्वजनिक स्थलमा हुने हिंसालाई सामान्यरुपमा लिने गरेको खुलासा गर्दै यस्ता हिंसा न्युनिकरण गर्न स्थानिय तह र प्रहरी प्रशासन जिम्मेवार हुनुपर्ने सुझाव राखेका थिए ।
“घरैदेखि शुरु गरौँ, महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारालाई साकार पार्न सोहि अभियान आत्मसाथ गर्दै ओरेक नेपालले पनि “घर र समाजको ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता” आफ्नो नारा लगाउँदै जिल्लाको पथरीशनिश्चरेका विभिन्न बजार क्षेत्रमा नाटकमार्फत जनचेतना जगाउन समन्वय गरिरहेको नाटककार तथा पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिमील्सिनाले बताए।