
उर्लाबारी ,१७ मंसिर । पूर्वी मोरङको उर्लाबारी नगरपालिकाले ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राहत र पोषण सामग्री वितरण गरेको छ ।
आज शुक्रबार नगरपालिकाको कार्यालय परिसरमा एक कार्यक्रम गरि अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम संयोजक तथा उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले १८ जना अपाङ्गता भएका ब्यक्तिलाई राहत र १८ जना अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न बितरण गरिन् । उपप्रमुख भण्डारीले अपाङ्गता रहर नभई बाँध्यता भएकाले सबैले अपाङ्गता भएका ब्यक्तिलाई माया, साथ , सहयोग र हौसला दिनु रहनुपर्ने बताईन् । उक्त अवसरमा उनले उर्लाबारी– ३ मा अपाङ्गता भएका व्यक्तिहरूको लागि सामुदायिक भवन निर्माण गरिएको जानकारी दिदै नगरपालिकाबाट अपाङ्गता भएका ब्यक्तिलाई दिने सहयोग कटौती नगरी अझै बढाएर लैजाने र राज्यबाट पाउने सेवा सुबिधा सदैव उपलब्ध गराउने वचनबद्धता ब्यक्त गरिन्।
अपाङ्गता भएका ब्यक्तिहरूको समूह उर्लाबारीका अध्यक्ष ब्यासकुमार लिम्बूले अपाङ्गता भएका ब्यक्तिले अपाङ्गता परिचय पत्र लिन धेरै समस्या भइरहेको भन्दै नगरपालिकामार्फत सहजै परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे ।
मिलिजुली समूह वडा नं २ की अध्यक्ष सुमित्रा श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिलाई समूह मार्फत प्रत्येक वडामा बीउ पुँजीको रूपमा नगरपालिकाले ५० हजार सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै नगरका सबै अपाङ्गता भएका व्यक्तिहरूलाई समूहमा आबद्ध हुन अनुरोध गरेकी थिइन् । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला सुब्बाले स्वागत मन्तव्य राखेकी थिइन् ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा सामग्री वितरण
३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुका लागि आज सामग्री वितरण गरेको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र पथरी शनिश्चरे नगरपालिकाको त्रिपक्षीय साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम एवम् पूनः स्थापना कार्यक्रमअन्तर्गत ती सामग्री वितरण गरिएको हो ।
नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, उपसचिव शालिग्राम काफ्ले, नगरस्तरीय अपाङ्गता समन्वय समिति संयोजक राजेन्द्र दाहाल सहितले सामग्री वितरण गरे। २० जना बालबालिकालाई पोषणयुक्त सामग्री, ३ बालबालिकालाई सहायक सामग्रीका रुपमा ह्विलचियर र १० जना आर्थिक विपन्न वर्गलाई फाइबर सिरक वितरण गरिएको छ ।