
दमक,१६ मंसिर । सर्वसाधारणहरुलाई जर्वजस्ती धर्म परिवर्तन गराएको अभियोगमा जिल्ला अदालत डोल्पाले काँस्की,पोखरा ३२ का क्रिश्चीयन धर्मगुरु (पाष्टर ) केशवराज आचार्यलाई कैद सजाय सुनाएको फैसला प्रति इसाइ समाज नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।
इसाई समाज १ नम्बर प्रदेश समितिले विहिबार दमकमा पत्रकार सम्मेलन गरि पाष्टर आचार्यलाई प्रहरी प्रशासनको मिलोमितोमा दुई बर्ष कैद र रु २० हजार रुपैया जरिवाना गरेको फैसला प्रति आपत्ति जनाउदै रिहाईको माग गरेको छ ।
समाजका प्रदेश अध्यक्ष बिक्रमबर्णबास एक्तेनले नेपालको संविधानले प्रदान गरेको जुनसुकै धर्म मान्ने स्वतन्त्रताको कार्यान्वयन गर्न राज्यको प्रशासनिक निकायको ध्यानाकर्षण गराए । उनले भने,–‘ धर्म प्रचार गरेको निहुँमा प्रशासनले क्रिश्चीयन धर्मका अनुनायीमाथि धरपकड गर्ने, थुन्ने जस्ता अपराधका रुपमा भईरहेको छ, त्यस्ता कार्यले हामीलाई चोट पुगेको छ । ’
प्रहरीले कोभिडको समयमा पाष्टर आचार्यले प्रार्थना गरि निको पारिदिने भन्दै अफवाह फैलाउदै धर्म प्रचार गरेको अभियोगमा मिति २०७७ जेठ २ गते आफनै निवासबाट उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका आचार्य अदालतको आदेश पछि मिति २०७७ असार १६ गते रु ३ लाख धरौटीमा रिहा भएका थिए । तर सोहि मुद्धाको पेशी बुझन अदालत पुगेका बेला गत मंसीर ६ गते नै आचार्यलाई प्रहरीले पुनः पक्राउ गरि सोहि दिन नै अदालतले आफनै आदेशको विपरीत कैद सजाय सुनाएको घटनाले सिंगो क्रिश्चीयन धर्मावलम्बी माथि चोट पुगेको समाजका प्रदेश समितिका सल्लाहकार राजकुमार राईले बताए ।
उनका अनुसार आचार्यको विचाराधिन मुद्धाको सुनुवाई भने मिति २०७८ मंसिर १४ गते तोकिएको थियो । उनले भने ,–‘ न्यायिक क्षेत्रले गरेको यस्तो फैसला प्रति हामी मर्माहत भएका छौं, आचार्यको अविलम्ब रिह ागर्न आग्रह गर्दछौ ।’
पत्रकार भेटघाट कार्यक्रममा प्रदेश अध्यक्ष पाष्टर येक्तेन, उपाध्यक्ष पाष्टर बिनोद मुर्मु, उपाध्यक्ष पाष्टर एनोस गजमेर, उपाध्यक्ष पाष्टर बिकास राई, कोषाध्यक्ष जमुना खड्का, सल्लाहकार पाष्टर राजकुमार राई लगायत उदयपुर, धनकुटा, मोरङ, सुनसरी, इलाम र झापाका धर्मगुरु,अनुनयाीहरुको उपस्थिति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण इसाई समाज दमकका अध्यक्ष आकाश थुलुङ राईले गरेका थिए।