भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या २७० पुग्यो

झापा, ११ भदौं । रसुवाको भोटेकोसीमा बुधबार आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ। नेपाल प्रहरीका अनुसार चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार ५२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालमा २६, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा २, नर्भिक अस्पतालमा २, मनमोहन अस्पतालमा १ र वीरेन्द्र सैनिक अस्पतालमा १ जनाको उपचार भइरहेको छ। १४ जना भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजीका लागि ब्यारेकमा आफन्तको भीड

नुवाकोटको विदुरमा रहेको सैनिक ब्यारेकमा बाढीमा बेपत्ताहरूको खोजीका लागि नाम टिपाउन आफन्तको भीड लागेको छ। विदुर आसपासका मानिसहरू श्री नं १ सैनिक तालिम केन्द्रमा पुगेर आफन्तको खोजीका लागि नाम टिपाइरहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म ८२६ जना सम्पर्कविहीन रहेको जनाएको छ। सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै ५७९ जना पर्यटक छन्। बाढीपछि ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्।

तिब्बतमा ५५८ जना सम्पर्कविहीन

तिब्बतको केरुङ काउन्टीमा बुधवार बाढीपछि सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ५५८ पुगेको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ। तीमध्ये २६० जना विदेशी नागरिक हुन्। अहिलेसम्म तिब्बतमा तीन जनाको मात्र मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्।

उद्धारका लागि परिचालित चिनियाँ टोलीहरूले अहिलेको प्राथमिकता विनाश भएको क्षेत्रभन्दा माथिपट्टि नदी थुनिएर बनेको तालको स्थिरता रहेको बताएका छन्।

त्यसका लागि एउटै उपाय भनेको नदी थुन्ने अवरोध हटाउनु भएको उनीहरूले सदर्न मेट्रोपोलिस डेलीलाई बताएका छन्। थुनिएको ताल भत्कियो भने फेरि बाढीले अर्को विपद् निम्तिन सक्ने आशङ्का गरिएको छ।

Leave a Reply

Your email address will not be published.