एमाले केन्द्रीय कमिटीमा झापाबाट १३ जना निर्वाचित

दमक,१५ मंसिर । नेकपा (एमाले ) को १० औ महाधिवेशनबाट झापाबाट १३ जना केन्द्रीय कमिटी र ४ जना आयोयमा निर्वाचित भएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट निर्वाचित हुने धेरै पुरानै अनुहार छन् भने केहि नयाँ पनि समेटिएका छन् ।
यसरी केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुने पुराना अनुहारमा देवराज घिमिरे, हिक्मत कार्की, रविन कोईराला, अग्नी खरेल, जितु गौतम, हरि राजवंशी र देवेन्द्र दाहाल छन् । माओवादीसँग एकिकरण पूर्वको एमालेमा कार्की तत्कालीन मेची ईन्चार्ज र कोईराला झापा ईन्चार्ज थिए । यस्तै दाहाल भने राष्ट्रिय सभाका सांसद हुन् ।
यस्तै केन्द्रीय कमिटीमा निर्वाचित हुने नयाँ अनुहारमा सुनीता बराल ,गोबिन्द थापा, रोमनाथ ओली,गीता अधिकारी,मेनुका काफ्ले , मन्जु उप्रेती रहेका छन् । अध्यक्ष ओली अनुकुल हुने गरि निर्वाचित हुने केन्द्रीय सदस्य मध्ये बराल अनेरास्ववियूकी केन्द्रीय अध्यक्ष ,थापा युवा संघका पूर्वकेन्द्रीय उपाध्यक्ष, ओली दमक नगरपालिकाका प्रमुख र अधिकारी उपप्रमुख हुन् ।
यस्तै ,निर्वाचित हुने केन्द्रीय सदस्यहरुमा उप्रेती मेची नगरनगरपालिकाकी उपप्रमुख र काफ्ले अनेमसंघ पूर्व केन्द्रीय सचिव समेत तथा कमल गाउँपालिकाकी अध्यक्ष हुन् । उनी स्थानीय सरकार प्रमुख मध्ये प्रदेश १ कै एक्लो महिला पनि हुन् ।
आयोगमा ४ जना
एमालेका शक्तिशाली दुई केन्द्रीय आयोगमा झापाका चार जनाले स्थान पाएका छन् । केन्द्रीय लेखा आयोगमा विर्तामोडकी जसमायाँ गजमेर सदस्यमा निर्वाचित भईन् ।
उनी प्रदेश १ सरकारकी पूर्व सामाजिक विकास राज्यमन्त्री हुन् । यस्तै अनुशासन आयोगमा झापाका ३ जना चुनिए । यसरी आयोगमा निर्वाचित हुनेमा दमकका अर्जुन राई, गौरादहकी लिला कटटेल कार्की र गौरीगञ्जका सर्वतलाल राजवंशी छन् । प्रदेशसभा सदस्य राई यसअघि समेत अनुशासन आयोगमा सदस्य थिए । उनको यो तेश्रो कार्यकाल हो ।
झापाबाट निर्वाचित भएका मध्ये ओलीको गृहनगर दमकको बाहुल्यता रहेको छ । जसमध्ये पनि पार्टी अध्यक्ष ओली निवास रहेको वडा नं. ५ का ३ जना केन्द्रीय सदस्य र अनुशासन आयोगका सदस्य राई पनि सोहि वडाका बासिन्दा हुन् ।

Leave a Reply

Your email address will not be published.