छोराको पर्खाइमा वृद्धा आमा श्यामसुन्दरी

विदेशमा हराएको छोराको तस्वीर देखाउदै बृद्धा आमा ।


दमक, १३ मंसिर ।
झापा कमल गाउँपालिका–६ सोनापुरकी ७६ वर्षिया श्यामसुन्दरी बस्नेतले कान्छो छोरो अमृतबहादुरको बाटो हेरेको २ दशक नाघ्यो । मजदुरी गरेर जिविका चलाउँदै आएको परिवारको कान्छो छोरा रोजगारीका लागि माल्दिभ्स गएका र हालसम्म नर्फिएपछि वृद्धा श्यामसुन्दरीको मन पिरोलिदै आएको छ । धन कमाएर परिवार पाल्ने सपना लिएर विदेश गएका छोरा यतिका बर्ष सम्म सम्पर्कविहीन हुदाँ बस्नेत परिवारमा नै पिरोलो रहेको उनी बताउँछिन् ।
बस्नेत परिवारका ६ जना छोरा मध्ये अमृत कान्छा हुन् । अरु दाजुहरु गाँउघरमा आ–आफ्नै गरि खाईरहेका छन् । वृद्धा श्यामसुन्दरीका अनुसार आमाबाबु पाल्ने जिम्मेवारी कान्छा छोराको भागमा थियो । काखे छोरो र बुहारी परिवारको जिम्मा लगाएर बिदेश भासिएको २० वर्ष पुगिसक्यो , तर परदेशिएको छोरा लापत्ता भएका हुन् । त्यसबेला उनका छोरा १० महिनाका थिए । ति छोरा पनि अहिले २० वर्षको भईसकेका छन् । उनले विलौना गर्दे भनिन् , –‘छोराले बाबु देखेको छैन, बेलाबेला बुबाको खोजी गर्छ ,सम्झाई बुझाई गरिआएको छु ।’
अमृतका बुवा मीनबहादुर पनि वृद्ध हुनुहुन्छ । आम्दानीको दिगो स्रोत खासै थिएन । कृषि मजदुरी गरेर परिवार धान्दै आएका थिए । विदेश गएर पैसा कमाउने र आएर पक्का घर बनाउने सपना थियो । वृद्धा आमा श्यामसुन्दरीले भनिन्–‘छोरो गएको ९ महिना पछि छोराले काम छोड्यो भन्ने खवर आयो, काम छोडे पछि त घरै आउला नि भन्ने थियो । विदेश गएर कमाएर घर बनाउने आमा भन्थ्यो । पैसै नकमाए पछि छोरो आए हुन्थ्यो भन्ने लागेको थियो तर छोरो आउला आउला भन्दा भन्दै बाबु पनि विते, अहिले बुढेसकालमा एक्लै भएको छु ।’
श्रीमान बेपत्ता भएपछि काखे नानी हुर्काउँदै उनकी श्रीमती पनि १४ वर्ष बसिन् । छोरो हुर्काईन । अनि त्यसपछि विदेशिएको श्रीमान बेखबर भएपछि उनी अर्कैं संग बिवाह गर्न पुगिन् । ‘उमेरकी बुहारीलाई मैले केहि भन्नु छैन, नाति हुर्काई, १४ वर्षकी बनाई अनि उ पनि बाटो लागि’ आफ्नो झुप्रोमा छोरोको विवाहको फोटो सुम्सुम्याउँदै बृद्धा आमाले भनिन् –‘पहिला छोरो थियो, बेपत्ता भयो । अनि बुहारी थिई मन बुझाउने, त्यो पनि बाटो लागि । श्रीमान थिए सहारा, उनको पनि ५ वर्ष अघि बिते । भएको नाति थियो एउटा, त्यो पनि अहिले काम खोज्दै पहाड तिर पुगेको छ, यो बुढेसकालमा एक्लै हुनु परेको छ ।’
छोरा बेखबर भएको घटना गाँउघर,स्थानीय सरकारका प्रतिनिधिहरुसंग गुहार गरेपनि कतै पनि सुनुवाई नभएको वृद्धा आमाले पीडा सुनाईन् । उनले थपिन, –‘धेरै खोजतलास गरेउ तर कतै पत्तो लाग्न सकेन् । ’
युट्युव, फेसबुक जस्ता विभिन्न सामाजिक सञ्जालमा वर्षौ हराएका व्यक्ति पनि भेटिएका खवर सुन्दा बृद्धा आमालाई पनि आस आउछ । यस्तो खबर सुन्दा हराएको छोरो पनि कतै भेटिएला कि भन्ने आशा बढाउने उनी बताउँछिन् । उनले अगाडी भनिन् –‘कि बाघले खानु प¥यो, कि डाकाले मार्नु प¥यो, कि पहिरोले पुर्नु प¥यो नभए त मान्छे पक्कै छ होला भन्ने लागेको छ । यहाँ मेरो हालत यस्तो छ भन्ने कतैबाट थाह पायो भने त पक्कै आउँछनै भन्ने लाग्छ । मान्छे आँफै आउन नपाए–नसके खवर त पठाउला नि ।’
गाँउघरका छोराछोरी विदेश गएर फर्किएको कथा उहाँले घरवरिपरि आफनै आखाँले नजिकबाट देखेकी छन् । विदेशबाट कमाएर परिवार चलाउला, बुढेसकालमा कान्छा छोराले स्याहारसुसार गर्लान भन्ने लागेको थियो उनलाई । तर वर्षौभयो, छोराको अत्तोपत्त्तो नहुदाँ उनको चिन्ता उस्तै छ । छोरा विदेश गएको म्यानपावर कम्पन्नीका बारेमा समेत बस्नेत परिवारलाई थाहा छैन् । भएको जग्गा बेचेर विदेश पठाएको छोरा कुन कम्पन्नीबाट त्यहाँ पुगे,उनको अवस्थाका बारे बर्षोदेखि बस्नेत परिवार बेखबर छ । उनले भनिन् ,–‘ कमाउन विदेश पुगेका छोरा एकाएक बेखबर छन्, यस्तो पीडा अरु कसैलाई नपरोस ।’

उनी राती अबेरसम्म घर बाहिरै टोलाउँनुहुन्छ, कुनै नौलो मान्छे गाउँघरमा आयो भने छोरो पो आयो कि भन्ने लाग्छ । छोरो नआए खवर पो आयो की भन्ने लाग्ने गरेको उनले विलौना सुनाईन् । तर छोरा घर फर्किने आशा अझैपनि जीवितै रहेको वृद्धाको भनाई छ । उनी भन्छिन् –‘उसका बाबुले पनि सास नगईन्जेल छोराको बाटो हेरिरहे, अब त कान्छो आए मेरो चाँहि सजिलो गरि सास जान्थ्यो भन्ने लागेको छ । ’
छोरा बेखबर भएको पीडामा छटपटाउदै आएका बस्नेत परिवारले एकै स्वरमा विलौनाका साथ भनिन् ,–‘लौन विदेशिएको छोराको खोजी गरिदिन सहयोग गरि दिनु प¥यो ।’

Leave a Reply

Your email address will not be published.