मोरङ सभापतिमा ३ जनाको उम्मेदवारी

मोरङ ,१० मंसिर । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङ जिल्ला सभापतिका लागि ३ जनाको मनोनयन दर्ता भएको छ। जिल्ला निर्वाचन समितिका अनुसार शुक्रबार लेटाङ नगरपालिकाबाट डिगबहादुर लिम्बू, पथरीशनिश्चरे नगरपालिकाबाट यदुकुमार विष्ट, बेलबारी नगरपालिकाबाट दिलीप गच्छदारले जिल्ला सभापतिका लागि मनोनयन दर्ता गराएका हुन्।

कोइराला पक्षधरका लिम्बू वर्तमान जिल्ला सभापति र पूर्व सांसद हुन्। त्यसैगरी, अर्का दाबेदार विष्टले यसअघि जिल्लाको सचिवको जिम्मेवारी वहन गरिसकेका छन्। संस्थापन पक्षधर गच्छदार भने पूर्व श्रमराज्यमन्त्री हुन्।

त्यसैगरी, उपसभापतिमा ५ जनाको मनोनयन दर्ता भएको छ। जिल्लाका उपसभापति भक्तिनाथ माझी, सचिव नागेश कोइराला, सुवोधकुमार सिंह र गोपालबहादुर थापा छन्। २ जना निर्वाचित हुने उपसभापतिका प्रत्यासीमध्ये माझी, कोइराला र मास्के विराटनगर महानगरपालिकाका हुन्। त्यसैगरी, सिंह धनपालथान गाउँपालिका र थापा सुन्दरहरैंचा नगरपालिकाका हुन्। २ जना रहने सचिवतर्फ ७ जनाको मनोनयन दर्ता भएको समितिले जनाएको छ।

जसमा विराटनगरबाट मनोज बस्नेत र अर्जुन निरौला, सुन्दरहरैंचाबाट शिवप्रसाद ढकाल, ललितबहादुर श्रेष्ठ, रंगेली नगरपालिकाबाट मोदराज घिमिरे, लेटाङ नगरपालिकाबाट ज्ञानेन्द्र ढकाल र रतुवामाई नगरपालिकाबाट रविन राई छन्।

सुन्दरहरैंचाका ढकाल र रतुवामाईका राई नगरपालिका प्रमुख छन्। अर्कोतर्फ मोदराज घिमिरे हाल जिल्ला सचिव हुन्। २ जना निर्वाचित हुने सहसचिवमा ६ जनाको मनोनयन भएको छ। समितिका अनुसार सहसचिवमा विराटनगरबाट सञ्जय मण्डल र सुभाष भण्डारी, बूढीगंगा गाउँपालिकाबाट अशोकप्रसाद रिजाल, भुवनेश्वर मण्डल, रतुवामाई नगरपालिकाबाट विशालकुमार गौतम, र लेटाङ नगरपालिकाबाट थीरप्रसाद फँुयाल छन्। कोषाध्यक्ष भने मनोनीत हुनेछन्।

समावेशी र प्रत्यक्ष ७८ जना खुला सदस्यमा ८८ जनाले दाबी गर्दै मनोनयन दर्ता गराएका छन्। अर्कोतर्फ, समानुपातिक सदस्यतर्फ ५५ जनाको मनोनयन दर्ता भएको छ। महाधिवेशन प्रतिनिधिमा अपांगतर्फबाट ३ जनाको मनोनयन परेको छ।

एक जना प्रतिनिधिका लागि उमादेवी घिमिरे विराटनगर, राजाराम सरदार धनपालथान गाउँपालिका र सुन्दरहरंैचाबाट दलबहादुर तामाङ छन्। प्रदेश अधिवेशन प्रतिनिधिमा अपांगबाट केशरबहादुर खत्री छन्। उनी निर्विरोध भएका छन्।

शुक्रबार मनोनयन दर्ता प्रक्रियासँगै शनिबार निर्वाचन गर्ने निर्धारित कार्यक्रम भने आइतबारसम्मका लागि सरेको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले जानकारी दिए। विराटनगरका मनास्लु पार्टी प्यालेसमा निर्वाचन हुने उनले बताए।

केही दिनदेखि जारी अधिवेशनको व्यस्तताका नेताहरूकै सहमतिमै निर्धारित मिति सारिएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published.