
पथरीशनिश्चरे, १० मंसिर । मोरङको पथरीशनिश्चरे नगर अस्पतालमा किशोर किशोरीमैत्री कार्यक्रम सञ्चालनका लागि आज शुक्रबार अभिमुखीकरण कार्यक्रम भएको छ ।
स्वास्थ्य कार्यालय मोरङको आयोजनामा नगर अस्पतालमा सम्पन्न कार्यक्रममा किशोर किशोरीका यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गरिएको हो।
नगरभित्रका अस्पतालमा छुट्टै कक्ष तथा पुरुष र महिला स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने विषयमा छलफल भएको उक्त कार्यक्रममा किशोरी किशोरीको फोकल पर्सनका रुपमा स्वास्थ्यकर्मी याम खड्कालाई तोकिएको छ ।
नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् नगर प्रवक्ता यामप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्ले, सामाजिक विकास समितिका सदस्य भद्रमान विश्वकर्माले नगरले किशोर किशोरीमैत्री स्वास्थ्य संस्था निर्माणको कार्यक्रमलाई सवै पक्षको सहकार्यमा कार्यान्वयनमा लैजानु आजको आवश्यकता भएको औंलाएका थिए ।
नेपालको कूल जनसंख्याको २५ प्रतिशत स्थान ओगटेका १० देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीका यौन तथा प्रजनन सम्बन्धी समस्यालाई महत्वका साथ हेर्दै अस्पतालले प्रदान गरेको सेवालाई अझ किशोर किशोरीमैत्री बनाउने कार्यक्रमको उद्देश्य रहेको छ । उनीहरुलाई काउन्सिलिङ समेत गरेर आवश्यक औषधिहरु प्रदान गर्दै उनीहरुको चञ्चल उमेरलाई सहि दिशामा अघि बढाउन आवश्यक रहेको कार्यक्रममा चर्चा गरिएको छ । नगर अस्पताल क्षेत्रका स्वास्थ्य शिक्षक, विद्यालय नर्स, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, अस्पताल व्यवस्थापन समिति, बाल क्लब प्रतिनिधि र अस्पतालका नर्सिङ स्टाफलाई कार्यक्रममा सहभागी गराइएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका परिवार नियोजन कार्यक्रम अधिकृत धरणी निरौला, झरना गिरी र लेटाङका स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरीले सहजिकरण गरेका थिए । यो कार्यक्रम यो वर्षका लागि जिल्लाको पथरीशनिश्चरे, लेटाङ,जाँते, सिजुवा र कर्सिया स्वास्थ्य चौकीमा सञ्चालन गरिने भएको हो ।