
दमक, १४ असोज । नेकपा माओवादी केन्द्र दमक नगर कमिटीले दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यालय सञ्चालनका क्रममा करोडौं रकम हिनामिना भएको भन्र्दे त्यसको सत्य तथ्य छानवीन गरि दोषी उपर कानुनी कारवाही गर्न माग गरेको छ ।
देशकै नमुना विद्यालयको रुपमा तिनै तहका सरकारबाट ठूलो मात्रामा अनुदान पाउदै आएको उक्त विद्यालयमा भएको आर्थिक हिनामिनाको घटनामा तीन सदस्यीय विद्यालय व्यवस्थापन समितिको प्रत्यक्ष संलग्नता भएको पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका नगर सचिव तीर्थराज बस्नेत (शंकर ) र इन्चार्ज वेदु गौतमद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ,–‘ शिक्षा जस्तो संवेदनशिल विषयमा यति ठूलो आर्थिक दुरुपयोग हुँदा स्थानिय दमक नगरपालिका र शिक्षा हेर्ने जिम्मा पाएको शिक्षा समिती मौन रहनु खेदजनक छ । यस परिस्थितिमा अभिभावक सहितको विद्यालय व्यवस्थापन समितिको अभावमा यी सबै हिनामिना, दुरुपयोग, अनियमितता भईरहेको हुँदा हाल रहेको कथित विद्यालय व्यवस्थापन समिति खारेज गरि कानुन अनुसारको विद्यालय व्यवस्थापन समिति निर्माण गर्न आग्रह गर्दछौं ।’
उक्त विद्यालयमा तिन हजार भन्दा बढि आधारभूत वर्गका छोराछारीहरू अध्ययन गर्दै आइरहेका भएपनि विद्यालयले भने माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुनु पर्ने सरकारको नीति भएकोमा, विद्यार्थीहरूबाट मोटो रकम असुल गर्दै आइरहेकाले त्यस्ता कार्य समेत रोक गर्न माग गरेको विज्ञप्तिमा जनाईएको छ ।
पार्टीले हिमाविमा भएको आर्थिक भ्रष्टचार छानवीन गर्न विषयगत विज्ञसहित नागरिक स्तरको छानविन समिति बनाउन पनि माग गरिएको सचिव वस्नेतले बताए ।
पार्टीले अगाडी भनेको छ , –‘हाम्रो आग्रहलाई बेवस्था गरि भ्रष्टहरूलाई संरक्षण गर्ने कुनै प्रकारका हर्कत भए माओवादी केन्द्र मुख दर्शक नबन्ने स्पष्ट पार्न चाहन्छौं ।’