
दमक,१४ असोज । दमकमा यहि कार्तिक २ गतेदेखि १० गतेसम्म वडास्तरिय मेयरकप प्रतियोगिता शुरु हुने भएको छ । दमक नगरपालिकाको दमक नगर फूटवल समितिको आयोजनामा हुने सो प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकिएको दमक नगर खेलकुद बिकास समितिका अध्यक्ष भिमराज केसीले बताए । प्रतियोगितामा नगरका १० वटै वडाको फूटबल टिमको सहभागिता जनाउने छन् ।
उक्त खेल दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने दमक नगर फूटवल समितिका अध्यक्ष मोहन मगरले बताएका छन् । उनका अनुसार उक्त प्रतियोगितामा उत्कृष्ठ हुने खेलाडीले आगामी हुन लागेको अध्यक्ष कप र दमक गोल्डकपमा समेत अवसर प्राप्त गर्ने छन् । प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ११ हजार एक ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ दि म्याचका रुपमा छानिने खेलाडीलाई नगद २ हजार, उत्कृष्ठ गोलकिपरलाई नगद ३ हजार, उत्कृष्ठ डिफेन्सलाई ३ हजार, उत्कृष्ठ मिडफिल्डरलाई ३ हजार,उत्कृष्ठ स्ट्राइकरलाई नगद ३ हजार, उत्कृष्ठ गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीका रुपमा एक जना खेलाडीले समेत नगद ५ हजार,ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।