अधिकांस छोटी भन्सारको आयभन्दा व्यय बढी खर्च

मोरङ,१६ पुस । मोरङका छोटी भन्सारबाट हुने आम्दानीभन्दा खर्च बढी हुने गरेको पाईएको छ । मोरङ जिल्लामा भारतसँग ६३ किलोमिटर सीमा रहेकामा यस क्षेत्रमा नौवटा छोटी भन्सार छन् । यीमध्ये सञ्चालित तीन छोटी भन्सारको वार्षिक आम्दानी भन्दा खर्च बढी हुदैआएका छन् । त्यस्ता छोटी भन्सार कार्यालय लामो समयदेखि त्यसरी नै सञ्चालन हुदैआएका छन् ।
विराटनगर भन्सार कार्यालयका अधिकृत अमित तिवारीले मायागञ्ज छोटी भन्सारले वार्षिक छ लाख रुपियाँको हाराहारीमा राजस्व सङ्कलन गर्दै आएको तथा रङ्गेली र डाइनियाबाट राजस्व सङ्कलन नै हुँदैन । विराटनगर भन्सारका मुख्य भन्सार अधिकृत ताराप्रसाद सापकोटाले भने , “राजस्व सङ्कलनभन्दा प्रशासनिक खर्च बढी छ । ” भारततर्फ भन्सार प्रशासनको काम गर्ने निकाय नभएकाले अन्दाजका भरमा राजस्व सङ्कलन गर्ने छोटी भन्सार आवश्यक नभएको उनले बताए ।
अवैध व्यापार नियन्त्रण तथा वैध व्यापार सहजीकरण गर्ने उद्देश्यले स्थापना गरिएका यी छोटी भन्सार भएका ठाउँमा भारततर्फ भन्सारका लागि आवश्यक पर्ने संरचना छैन ।
यी छोटी भन्सार सञ्चालनमा समेत समस्या छ । धनपालथान–२ को मायागञ्ज, रङ्गेली र सुनवर्षीको डाइनिया छोटी भन्सार अहिले सञ्चालनमा छन् । एक जना नायब सुब्बा र दुई जना सहयोगी कर्मचारीसहित सञ्चालित छोटी भन्सारको वार्षिक राजस्व भने अति न्यून छ ।
जहदा गाउँपालिकाको मधुमल्ला, धनपालथान गाउँपालिका मझारेको तरिगामा, रतुवामाई नगरपालिकाको बरडङ्गाको चुनिबारी, चौकीघाट छोटी भन्सार २०५३ सालदेखि बन्द छन् ।
तत्कालीन द्वन्द्वका कारण बन्द भएका छोटी भन्सार पुनः सञ्चालनमा आउन सकेका छैनन् । प्रतिव्यक्ति वा फर्मले १५ हजार रुपियाँसम्मको सामान ल्याउँदा छोटी भन्सारले राजस्व सङ्कलन गर्दछ । भन्सार अधिकृत तिवारीले खुला सीमा क्षेत्र भएका कारण भन्सारमा नगई सामान ल्याउनेको सङ्ख्या धेरै हुन्छ । यस्तो हुँदा भन्सार राजस्व उठ्न सकिरहेको छैन् । खुला सिमा र कडिकडाई गर्न नसक्दा अवैध समान आयातमा भन्सार राजस्व संकलन कार्य प्रभावित हुदैआएको स्वंम अधिकारीहरु स्वीकार गर्छन् ।
प्रदेश १ मा भारत तथा चीन नाका लक्षित विभिन्न सात वटा भन्सार कार्यालय सञ्चालन हुदैआएका छन् । इलामको पशुपतिनगर,ताप्लेजुङको ओलाङचुला भन्सार,संखुवासभाको किमाथाङका भन्सार,सुनसरीको सुनसरी भन्सार सेतुबन्ध,मोरङको विराटनगर भन्सार , काकड्भिटटाको मेची भन्सार र भद्रपुरको भन्सार कार्यालय सञ्चालनमा छन् । ती मध्ये काकड्भिटटा र मोरङको विराटनगर ठुलो परिणाममा भन्सार राजस्व असुली गरिआएका छन् ।
प्रदेश १ मा ३४ वटा छोटी भन्सार
यसैगरि ती भन्सारको मातहतमा ३४ वटा छोटी भन्सार सञ्चालनमा रहेको भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ । झापामा नक्कलवन्दा,आठमौजा, महाभारा,बाहुनडाँगी,गाडागल्ली , सतीघाट ,केचना,घराबारी,कुमोरखोद, पाठामारी र पञ्थपाड गरी ११ वटा छोटी भन्सार धौधौ गरि चल्दैआएका छन् । यस्तै,इलाममा छविसे,तुम्लिङ,छिरुवा,बन्दुके,माइमजुवा, मानेभन्ज्याङ ,पाँचथरको मेमेङ,च्याङथापु छोटी भन्सार छन् । त्यस्तै मोरङमा रंगेली,डोरिया,चुत्रीवारी,डाइनीया, कदमाहा ,मधुमल्ला,मारगन्ज,चौकीघाट ,तरगामा र सुनसरीका कौवाखोज,घुस्की,साहेवगन्ज,सिसुवालाही,लौकही र भण्टाबारी छोटी भन्सार सञ्चालनमा छन् ।
अधिकांस छोटी भन्सारले आफनै कार्यालय सञ्चालनका लागि खर्च थान्न सक्ने अवस्थाका छैनन् । भन्सार अधिकारी भन्छन्, –‘छोटी भन्सार छ भन्ने मात्र अवस्थाका छन् । बर्षोदेखि यस्ता भन्सारको हालत अत्यन्त नाजुक बन्दैगएको छ’

Leave a Reply

Your email address will not be published.