
दमक,८ पुस । सिक्किमबाट प्रकाशित थेत्लङ नामक चर्चित उपन्यासमा आधारित तथा किशोर सुब्बाले निर्देशन गरेको लिम्बू भाषाको चलचित्र थेत्लङ झापाको दमक र विर्तामोडमा विशेष प्रदर्शन गरिने भएको छ । चलचित्र यूनिट र लिम्बू समुदायका अग्रजहरुवीच भएको भेलाले जिल्लाको दुई मुख्य शहर बिर्तामोडमा पुस २४ गते र दमकमा पुस ३० गते विशेष प्रर्दशनी गरिने तय भएको हो ।
दमकमा बुधबार उक्त चलचित्र प्रदर्शन सम्बन्धी छलफल गरिएको चलचित्रकर्मी बिक्रम वनेमले बताए । उक्त छलफलमा राष्ट्रिय चुम्लुङ सदस्य गुमानसिङ सम्बाहाङफे, चुम्लुङ् जिल्ला अध्यक्ष सेसेहाङ फियाक, चुम्लुङ दमक नगर शाखा सहसचिव चन्द्र बहादुर कन्दङ्वा, लिम्बू विद्यार्थी मञ्च झापाका अध्यक्ष सागर साम्बा ,श्रष्टा जितेन पन्धाक, मिडियाकर्मी सङसेमी माङयुङ, याक्थुङ युवा मञ्चका कार्यकर्ता, याक्थुङ मुनचईत् चोक सयङ झापाका कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि यहि पुस २४ मा बिर्तामोडमा प्रर्दशनी गरिने उक्त चलचित्रको विशेष तयारी थालिएको आयोजक संस्था किरात याक्थुङ चुम्लुङ बिर्तामोड नगर शाखाले जनाएको छ ।चुम्लुङ भापा शाखाको समेत संयोजनमा विशेष प्रर्दशनीको क्रममा रहेको उक्त कार्यलाई सफल बनाउन आग्रह गरिएको जिल्ला अध्यक्ष सेसेहाङ फियाक बताए । उनका अनुसार सो चलचित्र प्रर्दशनी सम्बन्धी हालै बिर्तामोडस्थित चुम्लुङहिममा चलचित्र निर्माता मणि ताम्लिङ लगायको उपस्थिति रहेको थियो ।