गौरादह,७ पुस । झापाको गौरादहमा आयोजित झापा जिल्ला अन्तरपालिका स्तरीय प्रथम लोकतान्त्रिक कप नकआउट फुटबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।
गौरादह–१ स्थित जनता माविको खेलमैदानमा शनिवार आयोजित फाइनल खेलमा दमकले घरेलु टोली गौरादह नगरपालिकालाई १–० को जित निकाल्दै उपाधि हात पारेको हो।
विजेता बनेको दमक नगरपालिकाले रु १ लाख ११हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै,उपविजेता वनेको गौरादहले नगद रु ५५हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रसहित दोस्रो स्थानमा चित्त बुझाएको थियो ।
नेपाल लोकतान्त्रिक खेलकुद नगर समिति गौरादहको आयोजनामा मंसिर २८ गतेदेख शुरु भएको सो प्रतियोगितामा जिल्लाका ११ वटा पालिकाका फुटबल टोलीहरू सहभागी भएका थिए ।
फुटबलप्रेमी दर्शकहरूको उत्साहजनक सहभागिताबीच सम्पन्न भएको यस प्रतियोगिताले झापामा खेलकुदको विकास र अन्तरपालिका सहकार्यलाई थप प्रोत्साहन गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष ताराकुमार श्रेष्ठले बताएका छन् ।
दमकमा केपी ओली अन्तर्राष्ट्रिय महिला भलिबल खेल हुने
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा दमकमा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।एमाले निकट नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको १३ औं विस्तारित बैठकले ‘केपी ओली अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ सञ्चालनको निणर्य गरेको महासंघका प्रदेश अध्यक्ष राजकुमार थापाले जनाए । प्रतियोगिता माघकोे तेस्रो साताबाट वा फागुनको पहिलो साताभित्रमा शुरु गरिने तयारी गरिएको उनले बताए । अर्को बैठकले मिति तय गरिने निणर्य भएको पनि उनले बताए ।
महिलाहरुलाई खेलकुदमा अघि बढाउने उद्धेश्य अनुरुप हुने प्रतियोगितामा प्रदेशका ७ तथा विभागीय तथा भारत र बंगलादेशका गरी १३ टिमको सहभागिता रहने जनाईएको छ ।
खेलकुद महासंघले गतवर्ष झापामै केपी ओली रोड रेस कार्यक्रमको आयोजना गरेको थियो ।