पाँचथरमा अवैध मदिरासहित एक जना पक्राउ

फिदिम, ८ माघ । पाँचथर प्रहरीले प्रतिवन्धित सिक्किमे मदिरासहित एक जनालाई पक्राउ गरेको छ । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत फिदिम नगरपालिका -४ जोरसाल नजिकैबाट यात्रुवहाक बसमा लुकाईछिपाई लैजादै गरेको अवस्थामा ५० कार्टुन मदिरासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
काठमाडौँबाट ताप्लेजुङतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५६१९ नम्बरको यात्रुबाहक बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा ती मदिरा बरामद गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए। उनका अनुसार अवैध मदिरा लुकाइ–छिपाइ ल्याइएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले चेकजाँच गर्ने क्रममा उक्त मदिरा पक्राउ गरिएको हो ।

मदिरासहित पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी ३६ वर्षीय शंकर प्रसाईंलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कर्णको भनाइ छ ।

सिक्किमे ब्राण्डको उक्त मदिरा ५५ कार्टुनमा नौ हजार ६ सय ६ बोतल छ । जसको कम्पनीले तोकेको बजार मूल्य दुई लाख १४ हजार पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रसाईं र बरामद मदिरालाई कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । प्रहरीले अवैध मदिराको ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published.