इलाम,८ माघ । अटो दुर्घटना हुँदा इलामको देउमाईमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका- ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्याउने क्रममा बाटोमा मृत्यु भएको हो । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाइएको छ ।
ट्याक्टरबाट लडेर सहचालकको मृत्यु
गुडिरहेको ट्रयाक्टरबाट लडेर झापाको शिवसताक्षीमा एक जना सहचालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ ६ बजे शिवसताक्षी -६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडकखण्डमा बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरबाट लडेर सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय नारायण राजवंशीको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि आंम्दा अस्पताल दमक लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
ट्याक्टर चालक सोही ठाउँ बस्ने ३० वर्षीय नितेस घिमिरे र ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।