दमक,२ पुस । जिल्लाको कमल गाउँपालिका २ नं. वडा कार्यालयले वडाका टोल विकास संस्था तथा वजार व्यवस्थापन समितिहरुसंग अन्तरकृयात्मक छलफल गरेको छ ।
बुधबार क्याम्पामा एक कार्यक्रमको आयोजना गरि वडाको समग्र बिकासका बिषयमा अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ अन्तरकृया गरिएको वडा कार्यालयले जनाएको छ ।
अन्तरकृयासहितको छलफल कार्यक्रममा नयाँ तथा पुराना टोल विकास संस्था तथा नयाँ तथा पुराना बजार व्यवस्थापन समितिहरूबीच अन्तक्रिया सञ्चालन गरिएको हो ।
वडा सदस्य महेन्द्र खत्रीको अध्यक्षता र वडाध्यक्ष अशोक सुब्बाको प्रमुख आतिथ्यमा आफ्नो कार्यकाल अवधिमा उत्कृष्ट कार्य सम्पादन गरी समुदाय विकासमा महत्वपूर्ण योगदान पुरयाएका समितिहरूका निवर्तमान पदाधिकारीहरुलाई सम्मान गरिएको हो । सो अवसरमा वडाले उत्कृष्ट कार्य गर्ने टोल बिकास संस्था र बजार व्यवस्थापन समितिलाई सम्मान गरिएको थियो ।
जसअनुसार भुत्लुङ टोल विकास संस्था र समयगढ बजार व्यवस्थापन समितिको योगदानलाई उत्कृष्ट घोषणा गरी सम्मान स्वरुप मायाको चिनो प्रदान गर्नुका साथैं सबै टोल विकास संस्था र बजार व्यवस्थापन समितिका निवर्तमान पदाधिकारीहरुलाई सम्मान पत्र प्रदान गरिएको वडा सदस्य खत्रीले बताए ।
सम्मान पत्र हस्तान्तरण गर्दे वडाध्यक्ष सुब्बाले नागरिकहरुबीच अनुभव, योगदान र सिकाइबाट नयाँ समितिहरूलाई थप जिम्मेवार, सक्रिय र परिणाममुखी बनाउन यस किसिमको अन्तरकृयाले सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा वडा सदस्य भीम बहादुर कार्की , वडा सचिव सागर दाहाल लगायतको उपस्थिति रहेको थियो ।