आयुर्वेद उपचारमा विरामीको आकर्षण बढ्दै

दमक ,२३ मङसिर । झापाको कमल गाँउपालिका- ६ मा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा सेवा विस्तार गरिएसंगै विरामीहरुको आकर्षण बढ्दै गएको छ ।बर्षदिन अघि नै सञ्चालनमा आएको आयुर्वेद अस्पतालले स्वास्थ्य सेवा विस्तार गरेसंगै आयुर्वेद उपचारमा विरामीको आर्कषण बढ्दै गएको हो ।
अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार अहिले अस्पतालमा दैनिक ओपीडि सहितका केही सेवाहरुलाई सुचारु गरेर विशेषज्ञ सेवा उपलव्ध गरिन थालिएपछि सेवा प्रति आर्कषण बढ्न थालेको हो । गएको भदौ १६ देखि सञ्चालनमा आएको अस्पतालमा ११ महीनामा ८ हजार बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको चार महीनामा ४ हजार २४ जनाले ओपीडमार्फत सेवा लिएको डा. ठाकुरको भनाई छ ।जसअनुसार साउनमा १३२९, भदौमा ११००,असोजमा १०६२ र कार्तिकमा ५३३ जनाले सेवा लिएका छन् ।अस्पतालले विभिन्न किसिमका २८ किसिमका औषधि समेत निशुल्क उपलब्ध गराउँदै आएकोछ ।
५० शैयाको क्षमताको यस अस्पतालमा करार सहित १९ जनामात्र स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । कम्तिमा पनि ५० जना जनशक्ति हुने हो भने आकस्मिक लगायतका सेवा नियमित रुपमा सञ्चालन गर्न सकिने उनको भनाई छ ।
उनले अस्पतालमा एकैचोटी धेरै सेवा विस्तार गर्ने भन्दा पनि दिइरहेका सेवालाई प्रभावकारी बनाउने र सेवा थप्दै जाने आफुहरुको योजना रहेको बताए । उनले भने ,–‘यस आयुर्वेद अस्पताललाई प्रदेशकै प्रेषण अस्पतालका रुपमा विस्तार गर्ने योजनामा रहेका छौ ।’
जनशक्ति, बजेट र औषधि अभाव भएपनि हरेक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउदै आगामी बैशाखदेखि भने आकस्मिकसहित नियमित सेवा विस्तारका लागि परेको उनको भनाई छ । थोरै जनशक्ति भएपनि पञ्चकर्म, भिडियो एक्सरे, ल्याव लगायतको सेवा शुरु सुचारु छन् भने अव छिट्टै आकस्मिकसहितका अन्य सेवा विस्तारका लागि पनि आवश्यक काम गरिरहेको उनले बताए ।
अस्पतालका कविराज वेदप्रसाद शर्माका अनुसार अहिले अस्पतालमा आयुर्वेद स्वास्थ्य सेवा लिन दैनिक ५० जनासम्म विरामी आउने गरेका छन् । यो संख्या अव सेवा विस्तार पछि थप बढ्ने उनको भनाई छ ।उनले भने , –‘ आयुर्वेद उपचार पद्धतिमा जनविश्वास बढ्दो छ तर त्यस अनुसारको सेवा दिन भने चुनौती पनि यसप्रति हामी गंभीर छौ ।’अस्पतालमा नै औषधि उत्पादन गर्ने र स्थानीयलाई अस्पतालसंग जोड्ने सोच अनुसार काम भइरहेको पनि उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published.