दमक,२२ मंसिर । दमक नगरपालिका–३ स्थित दापगाछीमा सरकारको डेढ अर्बभन्दा बढी लागतमा बनेको भ्युटावर (बिजनेस कम्प्लेक्स ) को उद्घाटन आइतबार हुँदै छ।
भ्युटावर उद्घाटनको सन्दर्भमा शनिबार साँझ सहरी विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि भ्यूटावर उद्घाटनको सवै तयारी पूरा भएको जानकारी दिएको हो।
गृहनगरमा बनेको भव्य भ्युटावरको नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली आइतबार दमक आउँदै छन्। निर्माण भएको करिव बर्षदिन पछि भ्यूटावर उद्घाटन गर्न लागिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।
उनी दोस्रोपटक प्रधानमन्त्री हुँदा २७ असार ०७६ मा एक अर्ब ५६ करोड १४ लाखमा निर्माण ठेक्का लागेको थियो। २७ पुस ०७८ मा निर्माण सम्पन्न गर्ने गरी टावर निर्माणका लागि चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले ठेक्का लिएका थिए। यो भ्युटावर सहरी विकास मन्त्रालयअन्तर्गत निर्माण भएको हो।
सरकारले विशिष्ट संरचनाहरूको सञ्चालन र व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी विकास समिति (गठन) आदेश जारी गरिसकेको छ। जसअन्तर्गत दमकको भ्युटावर पनि सञ्चालन हुनेछ। तर, यो भ्युटावरमा कस्ता व्यवसाय सञ्चालन हुन्छन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन्। यस्तै, भ्युटावर निर्माण भए पनि यसको घर नक्सा दमक नगरपालिकाबाट पास भएको छैन्।
घर नक्सा मात्र होइन, सरकारी निकायबिचको समन्वय अभावले अझैसम्म वातावरणीय प्रभाव मूल्यांकन पनि हुन सकेको छैन्। त्यहाँका स्थानीयले भ्यूटावर निर्माणका लागि ५ विगाहा बढी जमीन नगरपालिकालई दिएको र सोहि स्थानमा १८ तले सुविधासम्पन्न भ्यूटावर तयार गरिएको हो । भ्यूटावर पूर्ण रुपमा सञ्चालनमा आएपछि यस क्षेत्रमा व्यवसायिक फड्को मार्ने अपेक्षा गरिएको छ ।