नक्कली सुनको गरगहना देखाएर ठगी गर्ने गिरोह पक्राउ

मोरङ,१७ मंसिर । जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुनको गरगहना भन्दै ठगी गर्ने गिरोहका दुई भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । पहेँलो धातुलाई सुन भन्दै सर्वसाधारणलाई झुक्याउने गिरोहका ६ जना पक्राउ परेका हुन् ।

मोरङ प्रहरीका एसपी नारायण चिमरियाले पत्रकार सम्मेलनमा भने,‘गिरोहले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा सर्वसाधारणलाई ठगी गरेको पाइएको छ ।’

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा झापाको कमल गाउँपालिका, बाँसबारी बस्ने ५२ वर्षीय अशोक तामाङ, झापाकै कन्काई नगरपालिका वडा नम्बर-९ घैलाडुब्बा बजार बस्ने ५९ वर्षीय धकलबहादुर थिङ, अर्जुनधारा नगरपालिका वडा नम्बर- ११ बस्ने ५४ वर्षको प्रविन तामाङ, हल्दिवारी नगरपालिका वडा नम्बर-३ बाघडाँडा बस्ने ६६ वर्षीय रामबहादुर कन्दङवा छन् । त्यस्तै भारत बंगालको नक्सलबारीका ५१ वर्षीय नारायण गुरुङ नक्सलबारी दयारामजोत बस्ने ३४ वर्षीय संजय शर्मा छन् ।

प्रहरीले अभियुक्तहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु तिलहरी ४ थान, हार जस्तो देखिने मंगलसूत्र २ थान, सुन जस्तो देखिने टिल ८ थान, कानको रिङ, बेरुवा औठी, लकेट भएको सिक्री कानको झुम्का, ब्रासलेट र कानको रिङ १र१ थान वरामद गरेको छ । त्यस्तै औठी १०, चाँदीको पाउजु ४, चाँदीको ब्रासलेट १, जिमाला १, सिक्री १ , कालो पोते १ थान बरामद गरेको छ । साथै २ लाख ७२ हजार ४३० रुपैयाँ र २ जार ६३० भारु बरामद गरेको छ ।

अभियुक्तहरूलाई मुलुकी अपराध संहिताको परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । अभियुक्तहरूलाई अपराध संहिताको २४९ को २ (ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.