मोरङ,१८ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतले हराउँदै माझी निर्वाचित भएका हुन् । निर्वाचित माझीले ६ हजार ९६९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थारुले ५ हजार ३ सय ३३ मत ल्याए ।
यस्तै, नेकपा एमालेका तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याएर तेस्रो भएका छन् । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका मध्ये १८ हजार ५७७ मत खसेको थियो ।
२०७९ को निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । असार ३ गते उनको निधन भयो । रिक्त रहेको अध्यक्ष पदका लागि आइतबार उपनिर्वाचन भएको थियो ।
२०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी भएका थिए । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि आइतबार उपनिर्वाचन हुन भएको हो ।पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् ।
२०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा तत्कालिन मधेसी जनअधिकार फोरम, नेपाल लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।
१५ वडा काग्रेसले जित्यो
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा आउने क्रममा अहिलेसम्म ३४ स्थानको अन्तिम नतिजा आइसकेको छ । जसमा नेपाली कांग्रेसले १५ वडामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले नगरपालिकाको एक उपप्रमुख, एक गाउँपालिका अध्यक्ष र ४ वडाध्यक्षमा कब्जा जमाएको छ । त्यसैगरी नेकपा एमालेले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ५ वडाध्यक्षमा जित निकालेको छ ।
त्यसैगरी जसपा नेपालले २ वडा, एकीकृत समाजवादीले १, नेमकिपाले १, रास्वपाले १ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष पदमा विजय हासिल गरेका छन् ।
कांग्रेसले जितेका स्थान
१,बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष धीरेन्द्र पुजारा
२,हेटौडा उपमहानगरपालिका १२ वडा अध्यक्ष अर्जुनप्रसाद तिवारी
३,मुसिकोट नगरपालिका १,आनन्द श्रेष्ठ
४,भीमदत्त नगरपालिका ६ प्रकाश चन्द
५,ठाकुरबाबा नगरपालिका ४ अमिन थारु
६,गढी गाउँपालिका ६ तेतर साहु
७,रुन्टीगढी गाउँपालिका ४ भूपमणि पुन मगर,
८,ईशनाथ नगरपालिका ७ शेख अब्दुल खलिक
९,सानीभेरी गाउँपालिका ५ मोतीराम खत्री
१०, कीर्तिपुर नगरपालिका १ इच्छाकुमार महर्जन
११,पूर्वीचौकी गाउँपालिका ६ मोहन थापा
१२,लालीगुराँस नगरपालिका ८ नगेन्द्र लिम्बू
१३,दुहुँ गाउँपालिका ५ धनसिंह कुँवर
१४,कुसे गाउँपालिका ७ खम्बबहादुर सिँह
१५,राजपुर नगरपालिका ६ मा समसे आलम
नेकपा एमाले जितेका स्थान
१,दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष जंगबहादुर शाही
२,बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष सुलोचना भण्डारी
३,शुद्धोधन गाउँपालिका १ वडा अध्यक्षमा मोहमद ताहिर मुसलमान
४,रामगोपालपुर नगरपालिका २ सकिवुल खाँ
५,मोलुङ गाउँपालिका ५ गंगा वहादुर तामाङ
६,सिरीजङ्घा गाउँपालिका ३ कुमारी सावादेन
७, दुल्लु नगरपालिका-१३ लालबहादुर शाही
माओवादी केन्द्र
१,ककनी गाउँपालिका २ कृष्ण घिमिरे
२,त्रियुगा नगरपालिका १२ नविन कुमार वान्तवा राई
३,धनुषाधाम नगरपालिका १ शुनिल कापर केवट
४,गोरखा नगरपालिका ५ बिष्णु बहादुर मगर
५,पुथा उत्तरगंगा २ वडाध्यक्ष जगत घर्ती काजु (निर्विरोध )
६, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष नमो नारायण माझी
७, नलगाड नगरपालिका उपप्रमुख देवका लामिछाने
जसपा नेपाल
१, डाक्नेश्वरी नगरपालिका १ धिरेन्द्र कुमार साह
२,डाक्नेश्वरी नगरपालिका ४ मा देवेन्द्र प्रसाद यादव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
१,काठमाडौँ महानगरपालिका वडा नम्बर १६ रोजिना श्रेष्ठ
नेकपा एकीकृत समाजवादी
१,रौतहटको गढिमाई नगरपालिका– ८ को वडाध्यक्षमा बजरंगी प्रसाद यादव
नेमकिपा
१, तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा खड्ग राज शाही
स्वतन्त्र
१,कन्काई नगरपालिका वडा नं ६ मा लक्ष्मीप्रसाद ओली