बालगृहले गरिदियो रजनीको बिहे

उर्लाबारी, ११ मङ्सिर । मोरङको उर्लाबारी–७ स्थित नमुना बालगृहले शुक्रबार रजनी सुब्बाको विवाह गरिदिएको छ । रजनी पाँच वर्षको उमेरदेखि नमुना बालगृहको संरक्षणमा बस्दै आएकी थिइन् ।

आफन्तसँग सम्पर्कविहीन रजनीलाई बालगृहकी संरक्षक मीना बरालले कन्यादान दिएकी हुन् । बरालले भनिन् “बालगृहले रजनीसहित तीन छोरीलाई अन्माइसकेको छ ।” रजनीको उर्लाबारी–८ का विकास कार्कीसँग विवाह भएको हो ।

कृषि विषय लिएर कक्षा १२ उत्तीर्ण गरेकी रजनी हाल समाजशास्त्र विषय लिएर स्नातक पढ्दै छिन् । यसअघि बालगृहले रिता शिवा र विमशा बस्नेतको विवाह गरिदिएको थियो । यस्तै बालगृहमा हुर्किएका एक किशोरको पनि विवाह गरिदिएको थियो । “हामी सधैँ पाल्न सक्दैनौँ । २० वर्षसम्म संरक्षण गरेपछि कुनै काममा लगाउन नसके सिप दिएर उनीहरूलाई आत्मनिर्भर बनी गरिखाने बाटो देखाउँछौँ । यो बालगृह हो, यहाँँ दिदीभाइ, दाजुबहिनीको सम्बन्ध बनाएर राखेका हुन्छौँ । त्यसैले यहीभित्र बस्नेबिच विवाह हुँदैन,” बरालले भनिन् । संरक्षक बरालका आफ्ना सन्तान छैनन् । आफ्नो सबै सम्पत्ति नमुना बालगृहलाई दिएर अवोध बालबालिकाको आमा बन्नुभएकी मीना बरालसँग अहिले ६६ जना बालबालिका छन् । उनले भनिन् , “६६ जना छोराछोरीलाई पढाउने, खुवाउने, सुताउनेमै दिन बितिरहेका छन् । नानीहरूलाई नियास्रो नहोस् भनेर हामीले सबै पर्वमा विशेष कार्यक्रम गरेर सहभागी गराउने गरेका छौँ । तिहारमा देउसी खेल्छन् । होली, तिज, दसैँ सामूहिक रूपमा मनाउने गरेका छौँ । चाडपर्व मनाउने मात्र होइन, मिल्दो जोडी आयो भने उमेर पुगेका छोराछोरीको बिहे पनि गरिदिन्छौँ ।”

Leave a Reply

Your email address will not be published.