राजेशको हत्यामा संलग्न चार जना पक्राउ

झापा ,२१ असोज । करिब चार महिना अघि हत्या गरी गाडेको अवस्थामा झापा ,बाह्रदशी गाउँपालिका–५ फूलबारीका राजेश ठाकुरको शव भेटिएको छ। प्रहरीले निरन्तर चार दिनदेखि गरेको उत्खनन पश्चात् २२ वर्षीय राजेशको कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।
गन्हाएको अवस्थामा उनको शव बाह्रदशी–७ स्थित बिरिङ खोलाको बगरबाट उत्खनन गरी आइतबार साँझ निकालिएको एसपी केसीले बताए। खोलाको पश्चिम किनारमा गाडिएको अवस्थामा टाउकोको हड्डी, खुट्टाको नली हड्डी, शरीरको अस्थिपञ्जर मात्र बाँकी रहेको सडीगलेको अवस्थामा शव फेला परेको एसपी केसीले बताए। उनको शव लुगाफाटाको आधारमा सनाखत भइसकेको छ। शवलाई पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइनेछ। ‘त्यहाँ डीएनए टेस्ट पनि गरिन्छ,’ एसपी केसीले भने।

सूराकीको आधारमा प्रहरीले जेसीबी लगाएर पहिलो दिन आरोपी छिमेकी गणेश राजवंशीको आँगनमा, दोस्रो दिन राजवंशीकै भान्सा कोठामा, तेस्रो र चौथो दिन बिरिङ खोलाको बगर खनेको थियो। ‘हत्या गरी दुबई भागेका राजवंशीसँगको कुराकानी र अन्य अनुसन्धानबाट ठाउँ पत्ता लगाई उत्खनन गर्दा शव भेटिएको हो,’ उनले भने।

भीम ठाकुरका छोरा राजेश गत जेठ १५ गते राति साढे ११ देखि बेपत्ता भएका थिए। तीन दिनसम्म परिवारको सम्पर्कमा नआएपछि खोजतलास गरी पाउँ भनी उनका बुबा भीमले जेठ १८ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा हुलियासहितको निवेदन दिएका थिए। सोही दिनदेखि प्रहरीले उनको निरन्तर खोजतलासमा जुटेका थिए।

घटनाको गोप्य रुपमा अनुसन्धान गर्दै जाँदा राजेशको हत्या भएको विशेष सूचना प्रहरीलाई असोज १७ गते प्राप्त भएको थियो। करिब चार महिना अघिदेखि बेपत्ता भएका राजेशलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले सोही दिन छिमेकी राजवंशी परिवारको घरमा उत्खनन गरेको थियो।

प्रहरीले छिमेकी गणेश राजवंशी, उनकी भाउजू मुना मेचे लगायतले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले घर आँगन उत्खनन गरेको थियो। आफ्नी काकी मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका भतिज नरेशले प्रहरीलाई बताएका थिए।

राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले प्रहरी समक्ष स्वीकार गरेका थिए। घटनामा संलग्न रहेका गणेश दुबईमा छन्। घटना गराएर उनी विदेश गएका थिए। मुनाका श्रीमान् अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन्।

प्रहरीले २० वर्षीया मुना मेचे (राजवंशी ), मुनाका जेठाजु ३१ वर्षीय समीर राजवंशी, मुनाका भतिज १६ वर्षीय नरेश राजवंशी र सोही ठाउँ बस्ने २१ वर्षीय आशिष् थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। दुबईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको एसपी केसीले बताए। मुना र उनको परिवारले राजेशको हत्या गर्नुको कारण भने खुलाएको छैन् ।मुना र राजेशबीचको अवैध सम्बन्ध हत्याको कारण हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.