दमक,१७ असोज । झापाको दमकमा बिहीबारदेखि सुरु भएको कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ अन्तर्गत शनिबार भएका क्वार्टरफाइनल खेलबाट बिर्तामोड भेट्रान र दमक भेट्रान (रातो) सेमिफाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिताको तेस्रो दिन भएको पहिलो क्वार्टरफाइनल खेलमा बिर्तामोड भेट्रानले दमक भेट्रान (निलो) लाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
दमक–२ बेलडाँगी खेलमैदानमा भएको खेलको ११औँ मिनेटमा बिर्तामोड भेट्रानका जर्सी नम्बर ७ का खेलाडी प्रवेश कटुवालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर १० का सन्तोष राईले गोल थपेपछि बिर्तामोडले २–० को जित सुनिश्चित गरेको हो।
त्यस्तै, दोस्रो क्वार्टरफाइनल खेलमा ढल्केजोबन उर्लाबारी भेट्रान र दमक भेट्रान (रातो) बीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिएको थियो। पेनाल्टीमा दमक भेट्रान (रातो) ले ढल्केजोबन उर्लाबारी भेट्रानलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। उक्त प्रतिस्पर्धात्मक खेलमा ढल्केजोवन उर्लाबारीका तीन जना खेलाडीले पहेँलो कार्ड पाएका थिए भने दमक भेट्रान (रातो) का एक जना खेलाडीले पहेँलो कार्ड पाएका थिए ।
प्रतियोगिताको बाँकी दुई क्वार्टरफाइनल खेल आइतबार हुनेछन्। पहिलो खेलमा चन्द्रगढी भेट्रान र धरान भेट्रानबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा काँकडभिट्टा भेट्रान र दुधे भेट्रानबीच खेल हुने क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिए ।