कांग्रेस दमकको पदहस्तान्तरणः सभापति प्रसाइँद्धारा कांग्रेस पहिलो बनाउने उदघोष

दमक,१५ असोज । नेपाली कांग्रेस दमकको नवनिर्वाचित नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम गरिएको छ । दमकस्थित कांग्रेस पार्टी कार्यालयमा एक कार्यक्रम गरि कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दमक नगर समितिको गत १० असोजमा सम्पन्न नगर अधिवेशनबाट निर्वाचित सभापति प्रकाश प्रसाइँको नेतृत्वलाई पदहस्तान्तरण गरिएको हो ।
नवनिर्वाचित समितिलाई तत्कालिन नगर सभापति रोशन विष्टले बैठक पुस्तिका प्रदान गरि पद हस्तान्तरण गरेका हुन् ।

पार्टीका पूर्व जिल्ला सभापति एवं बयोबृद्ध नेता पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सभापतिको कार्यभार सम्हाल्दै नव निर्वाचित सभापति प्रसाइँले दमकमा कांग्रेस भित्र कुनै गुट उपगुट नरहने र सबैको भावनाको कदर गरेर अघि बढने उदघोष गरे ।
उनले कांग्रेसको नगर अधिवेशन लगत्तै दमकमा चौथोबाट दोश्रो स्थानमा उक्लिसकेको भन्दै अब दोश्रोबाट पहिलो स्थानमा पुरयाउने निर्णायक भुमिका सबैको काँधमा आएको पनि उल्लेख गरे । सभापति प्रसाइँले आफनो कार्यकाल भर आफूले व्यक्ति प्रवृत्ति नदेखाई सामुहिक भावना राखेर अघि बढने पनि बताए । उनले भने – आजैको मितिदेखि म भित्र हामीको भावना राखेर अघि बढनेछु । ममाथि तपाइँहरुले गर्नुभएको विश्वासमा घात हुन दिने छैन् ।
कार्यक्रममा नगर सभापतिका निकटतम प्रतिस्पर्धी पर्शुराम रिजालले कांग्रेसको संगठनलाई चलायमान बनाउँदै सबैको अपनत्व महसुस हुने गरि यो नेतृत्वले काम गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताए ।
त्यस्तै निवर्तमान नगर सभापति समेत रहेका सभापतिका प्रत्यासी रोशन विष्टले आफनो कार्यकालमा शुरु गरिएका कतिपय महत्वपूर्ण कामहरुको बारेमा चर्चा गर्दै ति कामहरुलाई अबको नेतृत्वले विना आग्रह पूर्वाग्रह अघि बढाउनु पर्ने सुझाव दिए । उनले आफनो कार्यकालमा नगरमा स्थानीय चुनावमा पार्टीले निर्वाचन जित्न नसकेको कारण आफनै नेतृत्वमा पार्टीलाई विजयी गराउने उद्धेश्यले मात्रै आफू १४ औं महाधिवेशनमा उभिएको तर्क गरे । विष्टले आफू सभापति नरहँदा पनि पार्टीका उम्मेदवारलाई निर्वाचन जिताउने देखि पार्टीका हरेक कृयाकलापमा आफू सक्रिय भइरहने प्रतिबद्धता जनाए ।
पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी शर्माले कांग्रेस कार्यकर्ताहरुले अधिवेशनमा देखिएका तीन समूहको औचित्य नरहेको पुष्टि मतदाताले गरेको विश्लेषण गरे । उनले तीन वटै समूहबाट पदाधिकारीहरुलाई छानेर कार्यकर्ताहरुले क्षमता अनुसारको जिम्मेवारी सुम्पेको भन्दै त्यसै अनुसार नेतृत्वलाई पार्टी सञ्चालन गर्न सुझाव दिए ।
पदहस्तान्तरणमा महासमिति सदस्य शेर बहादुर भट्टराई , दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, गौरादह नगरपालिकाका प्रमुख समेत रहेका पार्टी महासमिति सदस्य रोहितकुमार साहले कांग्रेसलाई बलियो बनाउन एकता जरुरी भएको औल्याएका थिए ।
पहिलो चरणको सो कार्यक्रम नगर सभापति विष्टको सभापतित्व र नगर सचिव युवराज खनालको सञ्चालनमा भएको थियो भने दोश्रो चरणको कार्यक्रम सभापति प्रसाइँको सभापतित्वमा नवनिर्वाचित सचिवद्धय रामचन्द्र अधिकारी र दिपेश दाहालले आलोपालो सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.