दमक,१० असोज । सामाजिक कार्यमा सक्रिय क्लव हिमालयन टाइगरले आज दमकमा आयोजना गरेको खुला रक्तदान कार्यक्रममा १३१ पिन्ट रगत संकलन भएको छ ।संस्थाको चौथो स्थापना दिवस तथा साधारण सभाको अवसर पारेर स्थानीय गोरखा डिपार्टमेन्टको प्राङ्गगणमा भएको रक्तदान कार्यक्रममा क्लवका पदाधिकारी,सदस्यहरु, सर्वसाधारणहरु गरि ३० महिलासहित १३१ जनाले रगतदान गरेका थिए ।
क्लवका अध्यक्ष रेवतराज भण्डारीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी मनोज कुमार लामाको प्रमुख आतिथ्यतामा भएको रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सम्पन्न भएको सचिव कुमार गजुरेलले जानकारी दिए ।
त्यस अवसरमा प्रमुख अतिथि डिएसपी लामा र दमक उद्योग वाणिज्य संघ दमकका वरिष्ठ उपाध्यक्ष राजु खड्का लगायतले रगतको आवश्यकता महत्वका विषयमा बोलेका थिए । रक्तदानमा सहभागिहरुलाई प्रंशसापत्र वितरण गरिएको थियो ।