चलचित्र भवन सञ्चालनको वातावरण बनाउन पूर्वका व्यवसायीको माग

झापा, ३१ भदौ । नेपाल चलचित्र संघले कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका चलचित्र भवन सञ्चालनको वातावरण बनाउन माग गरेको छ । संघका पूर्वाञ्चल सभापति चैतन्य बराल नेतृत्वको टोलीले बुधबार झापाका प्रमुख जिल्ला अधिकारीलाई चलचित्र भवन सञ्चालनका लागि ध्यानकर्षण गरेको हो ।

टोलीले झापाका प्रजिअ श्रवणकुमार तिमिल्सिनालाई ध्यानकर्षण गराउँदै चलचित्र भवनमा लगाइएको निषेधाज्ञा हटाउन माग गरेको छ । चलचित्र क्षेत्रमा लगाइएको निषेधाज्ञाले हल सञ्चालकहरु सबै भन्दा धेरै मारमा परेको संघका पूर्वाञ्चल सभापति बरालले बताए ।
निषेधाज्ञाका कारण चलचित्र हलमा गरिएक लगानी जोखिममा परेको र हजारौंको रोजगारी गुमेको भन्दै पाथिभरा चलचित्र भवन दमकका सञ्चालकसमेत रहेका बरालले सबै क्षेत्र खुला गरेपछि चलचित्र क्षेत्र बन्द गर्नुको कुनै अर्थ नरहेको बताए ।

“सरकारले तोकेको मापदण्ड पालना गरेर हल सञ्चालनको वातावरण मिलाईदिन प्रमुख जिल्ला अधिकारी तिमिल्सिना समक्ष माग गरेका छौँ” बरालले बजार दैनिकलाई भने, “प्रजिअले सरकारले हल सञ्चालन गर्न दिए तोकिएका मापदण्ड पालना गर्न आफूहरु तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ ।”

प्रजिअ तिमल्सिनाले हल सञ्चालकको मागप्रति आफू गम्भिर भएको बताएका छन् । टोलीमा दमकको डिम्याक्स सिनेमा हलका सञ्चालक रेवत बस्नेत र बलराम पराजुली, पाथिभरा सिने प्लाजा बिर्तामोडका सञ्चालक युवराज प्रसाईं, वन स्टप सिनेमा बिर्तामोडका सञ्चालक मिजास पोखरेल र सिटी सिनेमा धुलाबारीका सञ्चालक प्रज्ज्वल घिमिरे रहेका थिए ।

Leave a Reply

Your email address will not be published.