कांग्रेस बैण्ड बाजा होइन नौमती बाजा हो –महामन्त्री शर्मा

दमक, २९ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस पार्टी बैण्ड बाजा नभएर नौमती बाजा भएको टिप्पणी गरेका छन् ।कांग्रेस झापा क्षेत्र नं ५ को दमकमा आज आयोजित प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले नयाँ खुलेका दलहरुलाई बैण्ड बाजाको संज्ञा दिदै त्यस्ता व्याण्ड बाजामा मान्छे एकछिन रमाउन सक्लान तर सदा प्रिय नलाग्ने दावी गरे । नेपाली हावापानी र माटोसंग भिजेको बाजागाजा भनेको त नौमती र पञ्चेबाजानै हुन र यो अझै लोकप्रिय भएको उनको भनाई छ ।
उनले भने , –‘बिहेमा बजेको पुरानो नौमती बाजा जस्तै जनताले बिर्सिन नसक्ने पार्टी भनेको देशकै जेठो पार्टी कांग्रेस मात्र हो ।’
कांग्रेस पार्टी मुलुकको अभिभावक पार्टी भएको बताउँदै महामन्त्री शर्माले मुलुकलाई सशस्त्र द्धन्द्धको चपेटाबाट उन्मुक्ति दिन होस वा संविधान दिलाउन होस वा गणतन्त्र ल्याउन कांग्रेसकै नेतृत्वमा सम्भव भएको उल्लेख गरे । कांग्रेसकै नेतृत्वमा मुलुकमा बिकासको ढोका खुलेको तथ्यलाई कसैले पनि नकार्न नमिल्ने महामन्त्री शर्माको भनाई थियो ।
झापा निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य समेत रहेका महामन्त्री शर्माले कांग्रेसबाट निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधिदेखि अन्य कार्यकर्ताहरुलाई समेत जनताको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । उनले जनप्रतिनिधिहरुलाई लक्षित गर्दै भने – ‘यो क्षेत्रमा हामीले नेतृत्व गरेका पालिका छन, वडा छन , पार्टीबाट टिकट लिएर चुनिएर जानु भएको तपाइँहरुले आफनो कार्यसम्पादन गर्ने सिलसिलामा पार्टी नहेरी जनताको सामुहिक स्वार्थलाई केन्द्रमा राख्नुहोस । ता कि हिजो तपाइँलाई भोट नदिने अन्य दलका कार्यकर्तालाई पनि पछुतो होस ।’
उनले भ्रष्टाचार मुद्धा लागेका पार्टी नेताहरुलाई बचाउने वा जोगाउने खेलमा कांग्रेस नलाग्ने स्पष्ट पारे ।
उनले मुद्धाको किनारा लगाउने अदालत र सम्बन्धित निकाय हुँदा हुँदै शरणार्थी सम्बन्धिका हुन वा ललिता निवास वा अरु कुनै पनि भ्रष्टाचारका बिषयमा पार्टीले दोषी उम्किन हुँदैन, निर्दोष फस्नु हुँदैन भन्ने नीतिसाथ अघि बढेको चर्चा गरे । पार्टी केन्द्रीय समितिको बैठक हरेक २÷२ महिनामा बस्ने निर्णय भएको र यसको कार्यान्वयन हुने समेत महामन्त्री शर्माले प्रतिबद्धता जनाए ।
पार्टी संगठनलाई चलायमान बनाउन आगामी असोजको पहिलो साता बस्ने केन्द्रीय समिति बैठकले थप कार्यक्रमहरु ल्याउने जानकारी दिँदै पार्टीले हरेक वडा तह सम्म पार्टीले गाउँ सेवा दल गठन गरेर जनताका हरेक दुखसुखमा जोडिने उनको भनाई थियो ।
देश बिग्रियो, पार्टी बिग्रियो, नेता बिग्रिए , सभापति भएन, उ भएन त्यो भएन बर्बादै भो भनेर कोकोहोला गर्नुभन्दा आफनै ठाउँ जनताका समस्यासँग नजिक भएर सुखदुःखमा साथ दिन आग्रह गर्दै नेता शर्माले अरु पार्टीका कार्यकर्ता जस्तो मिसन ८४ लाई दिमागमा नराख्न आग्रह गरे ।
सम्मेलनमा पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले सांगठनिक , सामाजिक तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए भने पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, नेतृ सुशीला ढकाल, कोशी प्रदेशका सहमहामन्त्री खडग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे र २०७९ को चुनावको घोषणा पत्र लेखन समिति सदस्य प्रमोदहरी गुरागाइँले शुभकामना मन्तव्य राख्दै सुदृढ कांग्रेस निर्माणमा जोड दिए ।
सम्मेलनमा सहभागीहरुले संगीनि नृत्य सँगै तीज सम्बन्धि मौलिकता र परम्परागत गीत, नृत्यहरु प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए सम्मेलनमा सहभागीहरुका तर्फबाट टंक ढकाल, रत्नकुमारी खतिवडा, हेमकला न्यौपाने, गौरसिंह राजवंशी, बासु दाहाल, हरि अधिकारी, दिलबहादुर बुढाथोकी लगायतले पार्टी नेतृत्वलाई सुझावसहित जिज्ञासाहरु राखेका क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published.