नेपालीभाषी तारालाई अमेरिकाको प्रतिष्ठित पुरस्कार

झापा, ३० भदौं । मोरङको शनिश्चरे शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका तारा दाहालले अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्।गत अगष्ट १ मा ४८ वर्षीय तारा दाहाललाई संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा विभाग(सीडीसी ) र एशोसिएशन अफ इम्युनाइजेसन म्यानेजरले संयुक्त रूपमा अमेरिकाभरिबाट समुदायको स्वास्थ्य सेवामा पुरयाँएवापत इम्युनाइजेसन च्याम्पियन अवार्ड २०२२ प्रदान गरेको हो । अवार्डका लागि उनीसहित उत्कृष्ट २८ जना परेका थिए । अमेरिकाका हरेक राज्यका एक एकजनाले प्रत्येक वर्ष यो अवार्ड पाउँछन्। तारा अवार्डका लागि ओहायो राज्यबाट छानिएका हुन्।

आठ वर्षदेखि ओहायो राज्यको सिनसिनाटीमा बस्दै आएका तारा सिनसिनाटीस्थित नेपाली भाषा तथा कला केन्द्रका अध्यक्ष समेत हुन्। त्यहाँको हेल्दी होमकेयर नामक संस्थामा पनि कार्यरत छन्। कोभिड १९ को महामारीका वेला समुदायमा सचेतना फैलाउन र खोप अभियानमा उल्लेख्य भूमिका निर्वाह गरेबापत उनलाई यो सम्मान प्राप्त भएको हो।

“यसबाट आगामी दिनमा समुदायको सेवामा लाग्ने ठूलो प्रेरणा मिलेको छ‚” उनी भन्छन्, “यो मूल्यांकनले आफ्नो कामले सार्वजनिक स्विकृति वा अनुमोदन प्राप्त गरेको पनि महसूस भएको छ।” उनलाई उक्त अवार्डका लागि ओहायो राज्यको ह्यामिल्टन काउन्टीको सार्वजनिक स्वास्थ्य सेवा विभागले सिफारिस गरेको थियो जसलाई ओहायो स्वास्थ्य सेवा विभागले अनुमोदन गरेको थियो।
तारा अध्यक्ष रहेको संस्थाले सिनसिनाटी आसपासका नेपाली बालबालिकालाई नेपाली भाषा पढाउने, महामारीको समयमा खोप सेवा लिन अभियान चलाउने, कोभिड संक्रमण भएर आइसोलेसनमा बसेकाहरूलाई घरैमा अत्यावश्यक सामग्री पुर्‍याउने लगायत काम गरेको छ। यसै संस्थाले ओहायोको कोल्‌रेन टाउनशिपसँग समन्वय गरेर नेपाली समुदायका लागि एउटा क्रिकेट मैदान समेत तयार गरेको छ।

उनले स्वयंसेवकको रुपमा अमेरिकी निर्वाचनका लागि मतदाता नाम दर्ता, नागरिकताका लागि आवेदन तयार गर्नेदेखि भाषिक कठिनाइका कारण सेवा सुविधा लिन नसकेकाहरूको सहयोगीको रुपमा पनि काम गरिरहेका छन्। सन् २०१६ देखि २०१९ सम्म क्याथोलिक च्यारिटी अफ साउथ वेस्ट ओहायोमा केश वर्करको रुपमा काम गर्दा उत्कृष्ट सेवा प्रदायक उपाधि समेत पाएका थिए।

Leave a Reply

Your email address will not be published.