दमक,२८ भदौ । आन्तरिक विशेष अभियान अन्तर्गत झापा क्षेत्र ५ को भोलि शुक्रवार हुने पहिलो क्षेत्रीय सम्मेलनको तयारी सबै पूरा भएकोछ । सम्मेलनको उदघाटनका लागि पार्टी महामन्त्री एवं प्रखर वक्ता विश्वप्रकाश शर्मा आउँदैछन् । युवा नेता शर्मासँगै पार्टी केन्द्रिय सदस्य एवं महिला नेतृ सरिता प्रसाइँसहित प्रदेश र जिल्ला नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार दमकको पशुपति सेवा सदनमा आयोजना गरिएको सम्मेलनको लागि विभिन्न उपसमितिहरुले आआफनो जिम्मेवारी अनुसार आवश्यक तयारी पूरा गरिसकेका छन् । उनले यो सम्मेलनले ऐतिहासिक महत्व राख्ने दावी गरे। सम्मेलनमा पार्टीको क्षेत्रीय समिति तथा प्रदेश समितिसँगै क्षेत्र नं ५ अन्तर्गतका सबै गाउँ नगरस्तरबाट पालिकामा नेतृत्व गर्ने जनप्रतिनिधिहरु, अगुवा नेता, कार्यकर्ताहरु सहभागी हुन्छन्। सम्मेलनमा क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता अनिवार्य गरिएको छ ।
७ सय भन्दा बढी नेता, कार्यकर्ताहरुको सहभागिता रहने सम्मेलनमा पार्टीको आन्तरिक गतिबिधि, जिल्ला तथा स्थानीयस्तरमा रहेका पार्टी भित्रका आन्तरिक बिषयहरुका बारेमा पनि सहभागीहरुबाट उठेका जिज्ञासाहरुको समाधान समेत केन्द्रिय नेताहरुले गर्ने पार्टीका क्षेत्रीय सचिव धर्मानन्द भट्टराईले जानकारी दिए । कांग्रेसले गएको साउनमा बसेको केन्द्रिय समिति बैठकले गरेको निर्णय अनुसार शुरु भएको सम्मेलनमा पार्टीको सांगठनिक तथा समसामयिक बिषयमा प्रतिवेदन समेत प्रस्तुत हुने जनाइएको छ ।