डाँफे सामुदायिक शाकोसको १७ औं बार्षिक साधारणसभामा सम्मान तथा पुरस्कार

दमक,२१ भदौं । झापाको दमक ५ मा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले विहिबार आफनो १७ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको साधारण सभाको माइन्यूट प्रमाणिकरणमा सम्मान तथा पुरस्कार वितरण गरि समापन गरिएको हो । संस्थाले गत भाद्र १२ गते सुरुङगा सेवा केन्द्रबाट इकाइगत साधारण सभा शुरु गरेको थियो । बुद्धशान्ति, गौरादह, धरमपुर, विर्तामोड र उर्लाबारी सेवा केन्द्रहरुमा यसअघि इकाइगत साधारण सभा सम्पन्न गरेर आज दमक क्षेत्रका शेयर सदस्यहरुसहित साधारण सभाको औपचारिक समापन गरिएको व्यवस्थापक टंक निरौलाले जानकारी दिए ।
सभामा संस्थाले बर्षेनी गर्दै आएको ज्येष्ठ नागरिक सम्मानबाट धरमपुर निवासी ८८ बर्षीय टिकाराम अधिकारीलाई सम्मान प्रदान गरिएको थियो भने सहकारीले वितरण गर्दे आएको सहकारिता उत्कृष्ट पत्रकारिता पुरस्कारबाट निष्कर्ष न्यूजका सम्पादक बिष्णु पौडेललाई प्रदान गरिएको थियो। त्यस्तै उत्कृष्ट कर्मचारी सम्मान अन्तर्गत धरमपुर सेवा कार्यालयका प्रमुख योगेश अधिकारीलाई पुरस्कृत गरिएको छ । तीनै जना सम्मानित व्यक्तिलाई नगद,सम्मान पत्र प्रदान गरिएको थियो । संथाले साधारणसभामा यी सम्मानहरु वितरण गरिआएको व्यवस्थापक टंक निरौलाले जानकारी दिए ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना मगरको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्दै वक्ताहरुले मुलुकको अर्थतन्त्रका तीन खम्बा मध्येको एक सहकारी भएकाले अव हरेक सहकारीले कृषि उत्पादन र रोजगारका क्षेत्रमा एकीकृत योजनासहित अघि बढ्नु आवश्यक रहेको बताए ।
सभामा मन्त्री मगरसहित कोशी प्रदेश सभा सदस्य होमबहादुर थापा , बचत तथा ऋण सहकारी संघ कोशी प्रदेश उपाध्यक्ष चन्द्रा खड्का (भट्टराई), जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगाले, मेची बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल लगायतले सहकारी क्षेत्रमा बढ्दो चुनौतीका सामना गर्न सहकारी अभियान्ता र सहकारीकर्मीहरुबीचको बलियो एकता कायम हुनुपर्नेमा जोड दिए । सो अवसरमा संस्थाको बार्षिक प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै संस्थाका अध्यक्ष न्यौपानेले संस्थामा सदस्यहरुको सक्रिय भुमिका अनिवार्य गर्ने नीति ल्याइएको जानकारी दिए । अध्यक्ष न्यौपानेले संस्थाले सहकारी शिक्षालाई सबै सेवा केन्द्रहरुको क्षेत्रमा विशेष प्राथमिकतासाथ अघि बढाइने जनाउ पनि दिए ।

सो संस्थाले हरेक बर्ष संस्थाको नीति अनुसार असल कारोबार गर्ने सदस्यहरुलाई ग्रीन कार्डको व्यवस्था गरेको र ग्रीन कार्ड पाउने सदस्यहरुलाई विशेष सेवा सुविधाहरु रहेको उल्लेख गरे । गत आर्थिक बर्ष २०८० -०८१ म त्यस्तो असल कारोबार गर्ने ७ जना सदस्यहरुलाई यस बर्ष ग्रीन कार्ड प्रदान गरिएको संस्थाका व्यवस्थापक निरौलाले जानकारी दिए ।
बुद्धशान्ति -३ का खेमप्रसाद कोइराला, विर्तामोड- ८ की हिमादेवी विष्ट, कमलका रामविर राई र सरण राई, दमक -४ की बिष्णुकमारी दर्जी, गौरादह- १ का सन्तोष बिमली र गौरादह -७ की रञ्जु साह, हल्वाईलाई यस बर्ष ग्रीन कार्ड प्रदान गरिएको हो ।
संस्थाले अघिल्लो बर्ष १ हजार ८ सय ७० जना सदस्य बृद्धि गर्ने लक्ष्य राखिएकोमा ४०२ जना बृद्धि गरिएको चालू आर्थिक बर्षमा १ हजार २१ जना बृद्धि गर्ने लक्ष्य राखेको अध्यक्ष न्यौपानेद्धारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
सो अवसरमा लेखा समितिका तर्फबाट संयोजक हेमचन्द्र खनालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहसचिव केशवशरण अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.