पथरी शनिश्चरे , २० भदौ । मोरङको पथरीशनिश्चरे -७ स्थित दुर्गा माविले आयोजना गरेको अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा पञ्चायत माध्यमिक विद्यालय प्रथम भएको छ ।
पथरी शनिश्चरे नगरभित्रका विभिन्न ११ वटा सामुदायिक माध्यमिक विद्यालयहरूबिच आज उक्त प्रतियोगिता भएको हो ।
नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयबाट प्रश्नहरु छनौट गरि आयोजना गरिएको सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने पञ्चायत माविका विद्यार्थीलाई नगद पुरस्कार २ हजार, दोस्रो स्थान हासिल गर्ने चन्द्र किरातेश्वर माविलाई १ हजार ५ सय नगद तथा तेस्रो भएको भागिरथ माविलाई नगद १ हजार रुपैयाँ पुरस्कारसहित प्रमाण पत्र प्रदान गरियो भने सान्त्वना प्राप्त गर्ने सुगाहाट मावि र दुर्गा माविलाई नगद पुरस्कार समान ५ सय रुपैयाँ र प्रमाण पत्र प्रदान गरिएको थियो ।
बिराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका अध्यक्ष बिराज राजा कार्की (हाल अमेरिका ) र संरक्षक योगेन्द्रमान कार्कीको आर्थिक सहयोगमा यो कार्यक्रम आयोजना भएको थियो ।
ब्याच र खदाको स्थानमा विद्यार्थीहरुले तयार पारेको सिलाम साक्माले अतिथीहरुलाई सत्कार गरेको थियो।
ती पुरस्कार पथरीशनिश्चरे नगरपालिकाका खेलकुद,युवा तथा शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकी र बिराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरेका संरक्षक योगेन्द्रमान कार्की, दुर्गा माविका प्रधानाध्यपक यादव घिमिरे, भूपु सैनिक अंग्रेजी स्कुलका प्रिन्सिपल उपेन्द्र कंडेल र मनकामना सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष मोहन कुमार श्रेष्ठले पुरस्कार र प्रमाण पत्र प्रदान गरेका थिए ।
सोहि अवसरमा प्रतियोगिता आयोजनाका लागि आर्थिक सहयोग गर्ने संस्था बिराज राजा कल्याण समाज नेपाल पथरी शनिश्चरे १ मोरङका संरक्षक योगेन्द्रमान काकीलाई कदरपत्रले सम्मानित गरिएको थियो ।