गौहत्यापछि दमकमा हिन्दुवादीहरु आन्दोलित

दमक,१९ भदौं । झापाको दमकमा गौहत्या भएपछि हिन्दुवादीहरु आन्दोलित भएका छन् ।हिन्दुवादीसहित विभिन्न राजनीतिक दलले गौहत्याजस्तो जघन्य अपराधिक कार्यमा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिले बुधबार दमकमा पत्रकार सम्मेलन गरी यो अति निन्दनीय ,घृणित र संविधानविरोधी हर्कत गर्ने जो कोही भएपनि सरकारी तवरबाट तुरुन्त खोजी गरी त्यस्ता व्यक्ति वा समूहलाई हदैसम्मको कार्वाही गर्न र यस्तो हर्कत गर्ने जो कोहीलाई निरुत्साहित गर्न माग गरेको छ ।
नगर समितिका अध्यक्ष हेम सुवेदी र सचिव अर्जुन रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,‘ यो जघन्य आपराधिक कार्यले मुलुकमा बढ्दै गएको धार्मिक सहिष्णुतालाई खलल पुग्ने मात्र होइन गौमाताप्रति अगाध विश्वास राख्ने आम जनमानसमाथि खुल्ला चुनौती दिएको र सिंगो समाजलाई नै मुठभेडको स्थिति निम्त्याएको छ ।’विज्ञप्तिमा दोषीलाई कारवाहीको दायरामा ल्याउन जस्तोसुकै मूल्य चुकाउनु परेपनि पछि नपर्ने चेतावनी दिइएको छ ।
ब्राह्मण समाजद्धारा कार्वाहीको माग
त्यस्तै ब्राह्मण समाज नेपाल जिल्ला समिति झापाले पनि प्रेस विज्ञप्ति जारी गरी समाजलाई आतंकित पारी मुठभेडतर्फ लैजान उद्धत गर्ने त्यस्ता तत्वहरुलाई सुक्ष्म अध्ययन गरी हदैसम्मको कार्वाही गर्न स्थानीय प्रहरी प्रशासनसंग माग गरेको छ । सो घटनाको विरोधमा राप्रपा दमकले इलाका प्रहरी कार्यालय दमकमा ज्ञापनपत्र बुझाएको राप्रपाका प्रदेश सदस्य राजु खड्काले बताए ।
गएराति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको हो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ ।

गौहत्या प्रति एमालेको विरोध
नेकपा एमालेले दमकमा भएको गौहत्याको घटनाको निन्दा गर्दे त्यसमा संलग्नलाई खोजी गरि कारवाही गर्न माग गरेको छ ।
पार्टी दमक नगर कमिटीका अध्यक्ष रामप्रसाद पौडेल र सचिव गिरेन्द्र चम्लागाईले संयुक्त विज्ञप्ति जारी गरि गौहत्यासम्मको अपराध गर्ने कार्यमा संलग्नको खोजी गरि अविलम्ब कारवाही गर्न माग गरेका छन् ।
देशको राष्ट्रिय जनावर गाई भएको स्मरण गराउदै पार्टीले सामाजिक सद्भाव विथोल्ने किसिमका कुनै पनि गतिविधि नगर्न,नगराउन आग्रह समेत गरिएको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.