सबैको जित हुनेगरी सहमति: सहमहामन्त्री आङदेम्वे

फिदिम, ११ भदौं । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले २०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मतलाई आधार मानेर गठबन्धन दलले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेको बताएका छन् ।
गृह जिल्ला पाँचथरमा नेपाल प्रेस युनियन पाँचथर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङदेम्वेले सबैको जित हुनेगरी गठबन्धन दलबीच सहमति हुने विश्वास व्यक्त गरे ।

‘सयमा सय नै हुनुपर्छ भन्ने होइन, तर २०७४ सालको प्रदेश र प्रतिनिधि सभामा कांग्रेसलाई समानुपातिकतर्फ ३३ प्रतिसत मतसँगै गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बढेको थप एक प्रतिसत मतलाई पनि आधार मानेर सय सिट हाराहारीमा कांग्रेसको पक्षमा सिट आउने उनले बताए।

एक्लाएक्लै लड्दा कुनै पनि दलले बहुमत प्राप्त नगर्ने र त्यसपछि स्थिर सरकार पनि नबन्ने देखिएकाले देशकै हितकालागि गठबन्धन गर्नुपरेको उनले बताए । कांग्रेसले देशव्यापी रुपमा शुरु गरेको जनतासँग कांग्रेस अभियान जिल्लामा शुरुवात भएको घोषणा गर्न उनी गृहजिल्ला आएका हुन् ।

उनीसँगै केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार र प्रदेश सदस्य उत्तम चौंलागाइँको पनि सहभागिता थियो । प्रतिनिधि सभा सदस्यका लागि एक, प्रदेश सभाका लागि दुई र आठवटा स्थानीय तह रहेको पाँचथरका ६० वटै वडामा कांग्रेसले कार्यकर्ता भेटघाट, छलफल र अन्तरक्रिया गर्ने जिल्ला सभापति रुपनारायण जवेगुले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.