झापा, १० भदौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफरिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ ।कांग्रेसले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेर उम्मेदवारको नाम सिफारिस गर्न भनेको छ ।
महामन्त्री गगन थापाद्वारा हस्ताक्षरित परिपत्रमा जिल्ला कार्यसमितिले भदौ १८ गतेभित्र प्रदेश कार्यसमितिलाई आकांक्षीको नाम पठाउनु पर्ने उल्लेख छ । परिपत्रमा जिल्ला कार्यसमितिबाट प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरेर प्रदेश कार्यसमितिले भदौ २० गतेभित्र केन्द्रमा नाम पठाउनुपर्ने भनिएको छ ।
अन्तरविरोध विर्सिएर गठबन्धनलाई जिताउन थापाको जोड
झापा, १० भदौ । नेपाली कांग्रेस प्रदेश न.१ का सभापति उद्वव थापाले देश र जनताको संविधानको रक्षाका लागि गठबन्धन जोगाउनुपर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिको परिपत्र अनुसार झापामा सुरु भएको ‘जनतासँग कांग्रेस अभियान’ लाई लक्षित गर्दै कांग्रेस झापा क्षेत्र न. २ ले आयोजना गरेको विस्तारित बैठकमा बोल्द्रै सभापति थापाले एमालेले सरकारमा रहँदा गरेको राज्य आतंकबाट मुलुकलाई मुक्त गराउन माओवादीसहितका दलहरुसँगको सहकार्यलाइ निरन्तरता दिनुपर्ने बताएका हुन् ।
गठबन्धन दलबीच सीट बाँडफाँडबारे छलफल जारी रहेको जानकारी दिँदै उनले सीट बाँडफाँडपछि मात्रै उम्मेद्वारका विषयमा छलफल हुने बताए । उनले पार्टीभित्रको अन्तरविरोध विर्सिएर गठबन्धन दलका उम्मेद्वारहरुलाई जिताउन एकताबद्ध रुपमाअघि बढ्न कार्यकर्तालाई आग्रह पनि गरे ।
स्थानीय तह निर्वाचनमा प्रदेश नं १ का ४७ वटा गाउँपालिकामा अध्यक्ष, ३५ वटामा उपाध्यक्ष, २३ वटा नगरपालिकामा नगरप्रमुख र ११ वटामा उपप्रमुखमा जित हासिल गरेको बताउँदै सभापति थापाले ६ वटा जिल्लामा कांग्रेसकै नेतृत्वमा जिल्ला समन्वय समिति गठन भएको जानकारी दिए ।
कार्यक्रममा कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले एमाले नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानलाई नै निकम्मा बनाएको बेला संवैधानिक संकटबाट देश बचाउन भूमिका निर्वाह गरेका गठबन्धन दलको चुनावी सहकार्य जरुरी रहेको बताए ।
कांग्रेसले सरकारमा रहेका दलहरुबीच चुनावी तालमेल नगर्दा मुलुक बाम धु्रवीकरणतर्फ जानसक्ने एवं संसद र संविधानमाथि नै खतरा औंल्याउँदै गठबन्धनको निरन्तरता अहिलेको आवश्यकता रहेको उनले बताए ।
२ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा प्रदेश ‘क’ का सभापति लक्ष्मी आचार्य, ‘ख’ का सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल, बिर्तामोड नगर समितिका कार्यवाहक सभापति सूर्य कन्दङ्वा, महाधिवेशन प्रतिनिधि पुण्य ओझा लगायतले बोलेका थिए ।
कार्यक्रममा २ नम्बर क्षेत्रभित्रका २१ वटा वडाका वडा सभापतिहरुले आ–आफ्नो वडाको सांगठनिक वस्तुस्थितिबारे प्रकाश पारेका थिए भने सञ्चालन चन्द्र चुडालले गरेका थिए ।