
काँकड्भिट्टा,१० भदौ । झापाको मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले पूर्वी काँकरभिट्टा नाकालाई सहज बनाउन माग गरेका छन् ।
उनीहरुले पूर्वी नाका काकड्भिटटा खुलाउन आग्रह गदैं प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विहीबार ज्ञापन पत्र बुझाएका हुन् ।
नेपालको प्रवेशको पूर्वीनाका काँकड्भिट्टाबाट नेपाल आउन चाहने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
मेचीनगरका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गदैं मेचीनगर उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिना र १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गदैं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर– १ का अध्यक्ष टिकाराज ढकालले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।
कोरोना भाईरस कोभिड १९ को विश्वव्यापी महामारीबाट सृजित विषम परिस्थितिका कारण लामोसमयदेखि लगातारको बन्दाबन्दी लकडाउनका कारण नेपाली आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं उद्योगी व्यवसायीले दैनिकीलाई सहजता तर्फ अग्रसर गराउने तर्फ अघि बढ्नु पर्ने बताएका छन् ।
लगातारको बन्दाबन्दीबाट थलिएको व्यापार, व्यवसायलाई सुचारु गराउन आवश्यक सहजीकरणका लागि स्थानीय व्यवसायीहरुको तर्फबाट विभिन्न माध्यमबाट सामूहिक माग हुँदै आएको र जिल्लाको व्यापार, व्यवसाय क्षेत्रलाई थप चलायमान बनाउदै लैजान सहयोग पुरयाँइदिन ज्ञापन पत्रमा उल्लेख छ । विज्ञप्तिमा दुवैदेशको सिमान्तक्षेत्रका वासीन्दाहरुको औषधोपचार, अध्ययन, रोजगारीसहित आपसी पारिवारिक सम्बन्धका कारण समेत लामो समयदेखि जारी नाकाबन्दीले थप समस्या उत्पन्न भएको जनाइएको छ ।
भारततर्फको नाकाबाट काँकरभिटटा हुदै भारत जाने मानिसहरुलाई कोभिड विरुद्धको पूर्ण मात्रा खोप लगाएको वा पिसिआर रिपोर्ट भएकालाई भारत प्रवेशमा कुनै अवरोध नरहेकाले काँकरभिटटा नाका हुदै नेपाल प्रवेश गर्ने मानिसहरुलाई समेत कोभिड विरुद्घको पूर्ण खोप लगाएको अथवा पिसिआर रिपोर्टको आधारमा सहज आवज–जावत गर्ने ब्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ तिम्सिनाले व्यवसायीका माग आजनै सरकारलाई पठाउने आश्वसन दिएको संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।