खानेपानी संस्थालाई राजनीतिक रंग नदिन समितिको आग्रह

दमक,७ भदौं । झापाको कमल -५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानी संस्थालाई राजनीतिक रंग नदिन सवै सरोकारवालाहरुसंग आग्रह गरेको छ ।
समितिले शुक्रवार आफनै सभाहलमा पत्रकार सम्मेलन गरि संस्थाको भदौ ६ गते भएको १३ औ बार्षिक साधारणसभामा केहि अवान्छीत युवाहरुको अशोभनीय हर्कत प्रति आपत्ति जनाउदै संस्थामा राजनीतिक रंग नदिन आग्रह गरेको हो ।
संस्थाकी अध्यक्ष उषा भण्डारीले कार्यसमितिको बैठकबाट सर्वसम्मत पारित गरेको प्रतिवेदन पुस्तिका उपर केहि व्यक्तिले सभा विथोल्नेसम्मको प्रयास भएकोमा आपत्ति जनाईन् । प्रतिवेदनमा खानेपानीको कार्यालय रहेको कमल ५ वडाका त्तत्कालीन वडाअध्यक्षबाट सहयोग प्राप्त नभएको उल्लेख छ । सोहि बुदाँ प्रति नेकपा एमाले नजिकका उपभोक्ता तथा स्वंम कार्यसमितिका सदस्यहरुले चरम असन्तुष्ट राख्दै सभा चलिरहदाँ एमालेका एक अगुवाले माईक खोस्नेसम्मको गतिविधि गरेका थिए ।
सोहि विषयमाथि विवाद संगै बन्दसत्रका लागि आवश्यक गणपुरक उपभोक्ताको उपस्थिति नभएपछि सभाको सवै कार्यक्रमहरु स्थगित भएको थियो । संस्थाले स्थगित साधारणसभाको बन्दसत्र लगायतका काम गर्न नियमानुसार भदौं १३ गते दोश्रो पटकका लागि पुनः तोकेको छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले निकटका खानेपानी समितिका पदाधिकारी तथा सदस्यहरुले भने संस्थाद्धारा प्रस्तुत गरिने प्रतिवेदन पुस्तिकामा उल्लेखित बुदाँ सच्चयाउँन माग राखेका थिए ।
खानेपानी समितिमा अध्यक्ष भण्डारीसहित बहुमतमा एमालेको उपभोक्ताको नेतृत्व छ । तर, यो चुनावी साधारणसभामा अध्यक्ष भण्डारी आफनै पार्टीसंग असन्तुष्ट छिन् । एमाले,जसपा नेपाल र राप्रपासहितको गठबन्धनबाट उम्मेदवार चयन घोषणासभामा उनले कडा रुपले आफनो असन्तुष्ट सार्वजनिक गरेकी थिइन ।
पत्रकार सम्मेलनमा उनले पार्टीको स्वार्थ भन्दा माथि उठेर उपभोक्ताहरुलाई स्वच्छ पिउने पानी उपलव्ध गराउन आफूले काम गरेको दावी गरिन् । खानेपानी संस्था स्वतन्त्र र सार्वभौम संस्था भएकाले कसैको दबाबको भर समिति दायावाया नहुने उनको भनाई थियो । उनले प्रतिवेदनमा जति विषय आएका छन्, सवै यथार्थ नै भएका बताउदै त्यसलाई राजनीतिकको मुद्धा नबनाउन उनले आग्रह गरिन् । प्रतिवेदनका एक,एक विषय साधारणसभाको बन्दसत्रले करेक्सन वा पारित गर्ने भएकाले त्यही बेला यो विषयले किनारा पाउने उनले जोड दिईन् ।
पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष राजेन्द्र संग्रौला,सचिव विष्णुप्रसाद पौडेल,लेखासदस्य भिम राई लगायतले कार्यसमितिबाट पारित भई तयार पारिएको प्रतिवेदनको बुदाँलाई दल तथा उम्मेदवार अनुकुल व्याख्या गर्न नहुने भन्दै सवै आफनो जिम्मेवारी प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरे । यता संस्थाकी सहसचिव चन्द्रकला भण्डारी,कमल ४ का वडाअध्यक्ष समेत रहेका सदस्य चन्द्रप्रसाद भट्टराई,सदस्यहरु सृजना दाहाल,सावित्रा बस्नेत लगायतले प्रतिवेदनमा केहि बुदाँलाई सच्चयाउनु पर्ने जिकीर गरेका थिए ।
असोजको दोश्रो साता हुने खानेपानीको निर्वाचनमा एमालेसहितका तीन दलबाट अध्यक्षमा कमल ५ का पूर्व वडाअध्यक्ष डम्बरवहादुर निरौला र नेपाली कांग्रेससहित माओवादी केन्द्र लिम्बूवान र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त गठबन्धनबाट अध्यक्ष राजकुमार न्यौपानेलाई अघि सारेका छन् । यता, संस्थाकी वर्तमान अध्यक्ष उषा भण्डारीले समेत उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
२०६३ सालदेखि शुरु भएको यस खानेपानीको धारा अहिले आएर ४ हजार ९ सय नाघेको छ । यस खानेपानीले कमलका ४, ५,६,७ का वडामा खानेपानी पुगिसकेको छ ।
संयुक्त गठबन्धनको उम्मेदवारी घोषणा भोलि
नेपाली कांग्रेससहित माओवादी केन्द्र लिम्बूवान र राष्ट्रिय स्वतन्त्र पार्टीको संयुक्त गठबन्धनले भोलि शनिवार उम्मेदवारी घोषणा सभा राखेका छन् । कमल ५ पाडाजुंगीस्थित रोडस्टर पार्टी प्यालेसमा एक कार्यक्रमगरि उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय गरिएको छ । सो गठबन्धनबाट अध्यक्षमा राजकुमार न्यौपाने,उपाध्यक्षमा दिनेश अधिकारी,सचिवमा निधिरत्न अधिकारी र सहसचिवमा बिमला भट्टराई लगायतकालाई उम्मेदवार बनाउने भएको हो । यस्तै, लेखा संयोजकमा पुनः धर्मानन्द भटराईलाई अघि सारेको छ ।
संयुक्त गठबन्धन सम्मिलित निर्वाचन समितिले दिनको १ वजे हुने साँझा उम्मेदवार घोषणासभामा खानेपानीका सवै सरोकार पक्षलाई उपस्थित भईदिन हुन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.