दमक,६ भदौ । दमकमा आन्तरिक राजस्व कार्यालयको आफ्नै भवन निर्माण हुने भएको छ । लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको उक्त कार्यालय निर्मााका लागि दमक नगरपालिकाले जग्गासहित वजेट उपलव्ध गराएपछि कार्यालयको आफ्नै भवन बन्ने निश्चित भएको हो ।
दमकमा मालपोत, नापी, प्रहरी, प्रशासन, सडक विभागलगायत अधिकांश सरकारी कार्यालय आफ्नै भवनबाट सञ्चालन भइरहेपनि राजस्व भने लामोसमयदेखि भाडाको घरमा सञ्चालन हुदैआएको थियो । स्थायी भवनको अभाव हुदाँ कार्यालयले असहजता खेप्दै आउनुपरेको थियो ।
नगरपालिकाले दमक ७ स्थित नगरपालिकाको नाममा रहेको ७ कट्ठा जग्गामध्ये २ कट्ठा जग्गा आन्तरिक राजस्व कार्यालय दमकलाई उपलब्ध गराउने र भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ६५ लाख रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।
संघीय सरकारले समेत भवन निर्माणका लागि बजेट विनियोजन गरिसकेकाले अब छिट्टै ठेक्का प्रक्रियामार्फत बहुवर्षीय योजनाअन्तर्गत भवन निर्माणको काम सुरु हुने दमक नगरपालिकाका प्रमुख रामकुमार थापा बताउँछन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा दमक -५ मा अवस्थित भाडाको घरमा रहेको कार्यालयमा आगजनी भएपछि अहिले भने दमक -५ स्थित भृकुटी चोक पश्चिम दिपिनी मार्गको एक घरमा कार्यालय स्थापना गरि नियमित सेवा प्रवाह भइरहेको आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत सूर्यप्रसाद कुँवरले जानकारी दिए । त्यहाँ कार्यालयले मासिक १ लाख १० हजार रुपैया तिदैआएको छ ।
उनका अनुसार आफ्नै भवन नहुँदा कार्यालयबाट उपलव्ध गराउदै सेवाग्राहीको काम प्रभावकारी बनाउन कठिनाइ भइरहेकाले यस्तो समस्या हटाउन स्थानीय सरकार लागेकाले पनि अव छिटटै आफनै कार्यालय बन्ने छ ।
दमकसहित गौरादह, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकासँगै मोरङको उर्लाबारी, पथरी, लेटाङ, कानेपोखरी र मिक्लाजुङ क्षेत्रका करदाताहरुलाई सेवा दिदै आएकोमा अव कार्यालयको आफ्नै भवन निर्माण भएपछि सेवाग्राहीलाई थप व्यवस्थित, सहज र प्रभावकारी ढंगले सेवा दिन सकिने उनको भनाई छ ।
कार्यालयबाट करदाता दर्ता, कर निर्धारण, कर संकलन, लेखापरीक्षण, कर कार्यान्वयन तथा कर अनुपालनको निगरानीसँगै करदाता सेवा, परामर्श, सहजीकरण र कर शिक्षासमेत कार्यालयले प्रदान गर्दै आएको छ ।
दैनिक ३०० देखि ४०० जनासम्म सेवाग्राही आउने कर कार्यालयले गत आर्थिक वर्षमा मात्रै १ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको थियो ।