दमक,३ भदौं । नेपाल सांस्कृतिक महासंघ दमक नगर समिति तथा नेपाल महिला संघ क्षेत्र न. ५ को संयुक्त आयोजनामा भोलि बुधबार भदौ ४ गते दमकमा हुने तिज बिशेष वृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । दमक -५ स्थित नेपाली कांग्रेस दमक नगर समितिको वीपी स्मृति भवनमा आयोजना विहान ११ वजे हुने तीज विशेष वृहत सांस्कृतिक कार्यक्रमको सवै तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
सांस्कृतिक कार्यक्रमका संयोजक टंक ढकालका अनुसार हिन्दु नेपाली महिलाहरुको महान चाड तीज अर्थात हरितालिका पर्वका अवसरमा भव्यता साथ मनाउन लागिएको हो । कार्यक्रममा नाँचगान,नृत्यसहित राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने संयोजक ढकालले जानकारी दिए ।
कांग्रेस निकट सांस्कृतिक महासंघका केन्द्रीय सहमहामन्त्री समेत चर्चित हाँस्यकलाकार शिवशंकर रिजाल (पानवाला)सहित कलाकार सुरेन्द्र केसी (मुलासाग ) ,चर्चित गायिका टिका प्रसाईको वेजोड सांगीतिक प्रस्तुति रहने संयोजक ढकालले बताए । उनले तीजलाई सांस्कृतिक पर्वका रुपमा सरलसंगै मौलिक ढंगले मनाउनु पर्ने मुख्य सन्देसका साथ यस कार्यक्रमलाई वृहत गर्न लागिएको उल्लेख गरेका छन् ।
कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डा. डिना उपाध्यायको प्रमुख आतिथ्यतामा हुने तीज विशेष सांस्कृतिक कार्यक्रममा क्षेत्र न. ५ भरिका महिला तथा संस्कृतिप्रेमीहरुको उल्लेखीय उपस्थिति रहने जनाईएको छ । कार्यक्रमका मुख्य आर्कषक कलाकारहरुको टोली मंगलवार साँझ दमक आइपुगेका छन् ।