
दमक,३१ साउन । तेस्रो देश पुनर्वास भएका भुटानी शरणार्थीको पहलमा झापा र मोरङका शिविरमा बसोबास गर्दे आएका शरणार्थीलाई मासिक भत्ता दिन थालिएको छ । अमेरिकामा रहेका भुटानीले दमकको बेलडाँगी र मोरङको पथरी शरणार्थी शिवरमा बसोबास गर्ने शरणार्थीलाई मासिक भत्ता दिन थालिएको हो ।
दुवै शिविरका ८० बर्षमाथि तथा असक्त, असहाय वृद्धवृद्धालाई मासिक रुपमा वृद्ध भत्ता वितरण गर्न थालिएको हो । तेस्रो मुलुक पुनर्वासअन्तर्गत अमेरिका गएका पूर्व शिविर सचिव डिल्लीराम अधिकारीले अमेरिकामा सञ्चालन गरेको इन्ट्रा नेशनल होम केयर एण्ड सपोर्ट फाउण्डेशनले शरणार्थी वृद्धवृद्धालाई मासिक भत्ता वितरण थालेका हुन् ।
फाउण्डेशनले मासिक ५ हजार नगदका दरले भत्ता वितरण गर्न थालेको र त्यसका लागि फाउण्डेशनले साउन महिनाको भत्ता दुई दिनअघि आफ्नो टिमलाई शरणार्थी शिविरमै पठाएर वितरण गरेको जनाएको छ ।
भत्ता वितरण गर्न दुई दिन अघि फाउण्डेशनका नेपाल प्रमुख नेपाली चलचित्रका अभिनेता दिलिप रायमाझीसहितको टोलीले शिविर आएको थियो । फाउण्डेशनबाट भत्ता पाउनेमा बेलडाँगीका ८० र पथरीका २७ जना बृद्धबृद्धा रहेका छन् ।