दमक,१७ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका दमकका नेता रोमनाथ ओलीले झापा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । काठमाण्डौमा आज बसेको एमाले सचिवालय बैठकले दमक नगरपालिकाका पूर्व मेयर ओलीलाई इन्चार्जको जिम्मेवारी दिएको हो । दमक ५ का स्थायीबासिन्दा उनी पार्टी भित्र सरल तथा इमान्दार नेताका रुपमा चिनिन्छन् ।
ओलीसँगै पार्टीको जिल्ला इञ्चार्जका लागि पार्टी केन्द्रिय सदस्य एवं यसअघि दुई पटक सम्म संविधान सभा सदस्यमा झापा ६ बाट निर्वाचित भएका नेता दिपक कार्की र नेता रविन कोइराला पनि पार्टी भित्रको आन्तरिक लबिङमा थिए ।
यसअघि एमाले झापाको इञ्चार्जका रुपमा पोलिटब्युरो सदस्य विशाल भट्टराई र अग्नी खरेलले पनि जिम्मेवारी सम्हालेका थिए । पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र समेत झापा भएकाले यहाँको इञ्चार्जको जिम्मेवारीलाई एमाले वृत्तमा निक्कै महत्वसाथ हेरिन्छ ।
यसैगरि, बैठकले मोरङको इन्चार्जमा पोलिटव्यूरो सदस्य जीवन घिमिरेलाई जिम्मेवारी दिएको छ । प्रदेश सरकारको सामाजिक बिकास मन्त्री भइसकेका नेता घिमिरे झापाकै धरमपुरका पूराना बासिन्दा हुन् ।