मोरङ ,६ साउन । मोरङको विराटनगरबाट प्रहरीले कटुवा पेस्तोल र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरअन्तर्गतको प्रादेशिक अनुसन्धान समूह (पीआईटी) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा खानतलासी गर्ने क्रममा ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो।
मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, तीन ग्राम सात मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र आठ ग्राम ४८ मिलिग्राम गाँजा बरामद गरिएको छ ।
बरामद हतियार र लागुऔषधसहित यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए ।
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
मोरङको उर्लाबारीस्थित सुनझोडा सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी नगरपालिका वडा नम्बर २ मा रहेको उक्त वन क्षेत्रबाट एक थान भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थहरू बरामद गरिएको हो।
मंगलबार राति करिब ९ः०० बजेको समयमा सुनझोडा सामुदायिक वनमा चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले वन क्षेत्रमा गस्ती गर्ने क्रममा जङ्गलभित्र बेवारिसे अवस्थामा रातो प्लास्टिकको बोराभित्र लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक १ थान र त्यसमा प्रयोग हुने विभिन्न विस्फोटक पदार्थहरू फेला पारेको हो।
बरामद गरिएका सम्पूर्ण हातहतियार तथा विस्फोटक पदार्थहरू इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याइएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।