तेक्वान्दो खेलाडीहरुले गरे ‘सामूहिक धान रोपाई’

दमक,२९ असार । दमकका तेक्वान्दो खेलाडीहरुले शनिवार सामूहिक धान रोपाई गरेका छन् । दमकमा हालैमात्र स्थापना भएको दमक तेक्वान्दो डोजाङले दमक ४ स्थित गोलाटारमा स्थानीयले जग्गा उपभोग गर्न दिएको ३ विगाहा बढी जमीनमा धान रोपाई गरेका हुन् । डोजाङले आन्तरिक स्रोत जुटाउन उद्देश्यले खेलाडीहरुको सहभागितामा शनिवार रोपाई गरिएको अध्यक्ष जितु धिमालले बताए ।
उनका अनुसार विहान ११ वजेसम्म गरिएको धान रोपाईमा प्रशिक्षकहरु प्रतिमा तामाङ,मनु कटुवाल,आयुस धिमाल,कपिल धिमालसहितका प्रशिक्षक तथा खेलाडीहरु गरि ४० जनाले श्रमदान गरेका छन् । शनिवार डेढ विगाहा जमीनमा धान रोपाई गरिएपनि थप डेढ विगाहा जमीनमा भने असार ३१ गते पुनः सामूहिक रुपमा धान रोपाई गरिने डोजाङका सदस्य संगम राईले बताए ।
डोजाङका सदस्य आरसी अधिकारीले संस्था आफै स्वालम्बी बन्न यस किसिमको कार्यक्रम शुरुवात गरिएको जानकारी दिए । धान रोपाईमार्फत आम्दानी हुने रकम संस्थाको हितमा खर्च गरिने उनले बताए ।
दमकमा तेक्वान्दो खेलको विकासमा टेवा पुरयाँउन उद्देश्यले डोजाङ गठन गरि दर्ताको प्रकृयामा रहेको अध्यक्ष धिमालले बताएका छन् ।११ सदस्यीय डोजाङको संरक्षकमा गजु देवान,उपाध्यक्षमा नविन योगी,सचिवमा श्याम आचार्य र कोषाध्यक्षमा प्रतिमा तामाङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published.