साहित्यकला सङ्गमले मनायो २११ औँ भानुजयन्ती

दमक,२९ असार । २११ औँ भानुभक्त जन्मजयन्तीका अवसरमा आज साहित्यकला सङ्गम दमकले एक कार्यक्रमका बिच रामायण वाचन तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।साहित्य कला सङ्गमका वरिष्ठ उपाध्यक्ष बिन्दु दहाल मूकदर्शकको सभापतित्व एवम् अग्रज साहित्यकार डा. गोपाल भण्डारीको प्रमुख आतिथ्य र दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी आतिथ्यतामा विविध कार्यक्रम गरि भानु जयन्ती मनाएको हो ।
ढुकुरपानी माव का पूर्व प्रअ लीला खनाल , मोडल क्याम्पस दमकका प्राध्यापक ज्ञाननाथ निरौलाको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रममा दमक बहुमखी क्याम्पसका प्राध्यापक बाँस्कोटा धनन्जय , साहित्यकार राम नेपाल , खड्गबहादुर खड्का, जीवनचक्रका अध्यक्ष गणेशप्रसाद गौतम , संस्थाका कार्यसमिति सदस्य वीरेन्द्र खड्का ,मेघनाथ बन्धु , साहित्यकारहरु, किराती राजा, भगवती ढुङ्गेल , यादवप्रसाद नेपाल , गीता कुवर, अम्विका प्रसाद सापकोटा हिमाविका पूर्व प्र अ साहित्यकार ओम आचार्य , विवेक दुलाल क्षेत्री , नेत्र प्रसाद दहाल , नेत्र अधिकारी , रुद्रमणि नेपाल आदिले कवितावाचन तथा मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा संस्थाकी उपाध्यक्ष दुर्गा खनालले स्वागत मन्तव्य रामायण वाचन गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
सो अवसरमा भानुचोकमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरी संस्थाको कार्यालयमा रचनावाचन कार्यक्रम गरिएको थियो ।
भानु साहित्यिक पुरस्कार प्राध्यापक गुरुङलाई
यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.जगमान गुरुङलाई प्रदान गरिएको छ ।२११ औँ भानु जयन्तीको अवसरमा मेचीनगरमा शनिवार आयोजित एक कार्यक्रममा गुरुङलाई नगद एक लाख एक हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको कार्यक्रममा सम्मानित व्यक्तित्व गुरुङले राजनीतिले हरेक क्षेत्रलाई फुटाउने गरेकोमा भाषा, कला, साहित्य र संस्कृतिले त्यसलाई जोड्ने गरेको बताए । राजनीति गर्ने हरेक व्यक्तिहरुलाई भाषा, कला, साहित्य र संस्कृतिलाई आत्मसात गरेर अघि बढ्न सुझाव दिए । ‘राजनीतिले हरेकलाई विखण्डित गर्छ’, गुरुङले भने,‘साहित्यले राजनीतिलाई जोड्छ । धर्म र संस्कृतिलाई मानेर राजनीति गरे सफल हुन्छ ।’ सम्मानित व्यक्तित्वका बारेमा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले प्रकाश पारेका थिए ।

सोही अवसरमा विभिन्न विधाका श्रष्टा र संस्थालाई सम्मान गरिएको थियो । कृषि क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्र्याएको र हरेक कृषकहरुलाई उन्नत जातको बीउ साथै कृषि उपकरणमा सहयोग पुर्याएको भन्दै मेची कृषक बहुमुखी सहकारी संस्था र भानु पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने महेन्द्रद्वार सहकारी संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।
हेमराज—मेदनी खरेल संगीत साधना प्रतिभा पुरस्कार संगीत साधना प्रतिष्ठान नेपाल सुनसरीलाई , कृष्ण—पवित्रा उप्रेती साहित्यिक प्रतिभा पुरस्कार सुसेली साहित्यिक प्रतिष्ठान मेचीनगरलाई ,हेमराज—मेदनी खरेल साहित्य तथा सञ्चार प्रतिभा पुरस्कार सञ्चारकर्मी पिनाकीप्रसाद कोइरालालाई, कृष्ण—पवित्रा उप्रेती खेलाडी प्रतिभा पुरस्कार टेवलटेनिस खेलाडी अमिता गिरीलाई प्रदान गरियो । पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ नगद रहेको छ । त्यस्तै नगद १५ हजार रुपैयाँ र सम्मानपत्रसहितको भानु उद्यमी पुरस्कार खड्गबहादुर अधिकारीलाई प्रदान गरियो । भानु प्रशंसा पुरस्कार केन्द्रप्रसाद भट्टराई र जयप्रसाद आचार्यलाई प्रदान गरियो । जुन पुरस्कारको राशि जनही नगद पाँच हजारसहित सम्मानपत्र रहेको छ ।

Leave a Reply

Your email address will not be published.